आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • प्रदेश २
  • मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन घाइते, एकको अवस्था गम्भीर

मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन घाइते, एकको अवस्था गम्भीर

  • बुधबार, कार्तिक १५, २०८०
मन्त्री चढ्ने गाडीको ठक्करबाट तीन घाइते, एकको अवस्था गम्भीर

सर्लाही — मधेश प्रदेश सरकारका मन्त्री चढ्ने गाडीको ठक्करबाट सर्लाहीमा तीन युवक घाइते भएका छन् । जसमध्ये एकको अवस्था गम्भीर छ । सर्लाहीको बरहथवा नगरपालिका–९, मुक्तेश्वर चोकमा मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने मधेश प्रदेश ०२–००१ झ ०२४० नम्बरको जिपले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा बरहथवा नगरपालिका ५ बस्ने १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका-५ मोहनपुर बस्ने १८ वर्षीय दीपक महतो र वाग्मती नगरपालिका–१० शंकरपुर बस्ने १९ वर्षीय अजय महतो घाइते भएका प्रहरीले जनाएको छ । घाइते तीनै जनाको वीरगन्जमा उपचार चलिरहेको छ । तीन घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनापछि गाडीका चालक फरार छन् । दुर्घटना के कति कारणले भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा हुइँकिएको मन्त्री चढ्ने जिपले मोटरसाइकललाई ठक्कर दिएको थियो ।

तीव्र गतिका कारण युवाहरू सडकमै परसम्म बजारिएका थिए । दुर्घटनापछि चालक र त्यसमा सवार अन्य व्यक्ति गाडी छाडेर फरार भएपछि आक्रोशित स्थानीयले गाडीमा तोडफोडसमेत गरेका छन् । गाडी अहिले इलाका प्रहरी कार्यालय बरहथवामा लगेर राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार