• होमपेज
  • अर्थ/वाणिज्य
  • ६ वाणिज्य बैंक कारबाहीमा

६ वाणिज्य बैंक कारबाहीमा

  • आइतवार, कार्तिक १२, २०८०
६ वाणिज्य बैंक कारबाहीमा

निर्देशनविपरीत काम गर्ने ६ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न कसुरमा ती बैंकलाई नगद जरिवानादेखि सचेतसमेतको कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, एनआईसी एसिया, नबिल र सिटिजन्स बैंक छन् ।

सम्पत्ति शुद्धीकरण सम्बन्धमा जारी निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई ७० लाख रुपैयाँ नगद जरिवाना असुल गरेर कारबाही गरेको छ । हिमालयन बैंकले तोकिएको ८० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी) कायम नगरेका कारण १ करोड ६७ लाख रुपैयाँ नगद जरिवाना तिर्नुपरेको छ ।

एनएमबी बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गर्दा कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ । बैंकले एकीकृत निर्देशनको कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित) को दफा १० को उपदफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको थियो । सोसम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लंघन गरेकामा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐनको व्यवस्थाअनुसार राष्ट्र बैंकले सचेत गराएको हो ।

एनआईसी एसिया बैंक र नबिल बैंकले पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी अनुपात) सम्बन्धी निर्देशन पालना नगरेकाले कारबाहीमा परेको बताइएको छ । एनआईसी एसिया बैंकले एकीकृत निर्देशन नं १५ को बुँदा नं ३ को (८) मा उल्लिखित व्यवस्थाविपरीत हुने गरी ग्राहकसँग बढी लिएको ब्याज जोखिम प्रिमियम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकामा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको हुँदा कारबाहीमा गरिएको राष्ट्र बैंकले बताएको छ ।

बैंकले निर्देशनविपरीत ब्याज बढाएको, क्यापिएडुकेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको आरोप पनि यो बैंकलाई लागेको छ । यी कसुरमा राष्ट्र बैंकले एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतलाई नसिहत र सञ्चालक समितिलाई सचेत गराएको छ ।

नबिल बैंकले निर्देशनविपरीत प्रिमियम बढाएको, ग्राहकसँग त्रैमासिक रूपमा शुल्क (कर्जा प्रशासनिक शुल्क) लिने गरेको, संस्थागत मुद्दती निक्षेपमा ग्राहकलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएकोलगायत कसुर राष्ट्र बैंकले भेटाएको छ । यी कसुरमा राष्ट्र बैंकले नबिलका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

सिटिजन्स बैंकले राष्ट्र एकीकृत निर्देशनविपरीत कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५) अनुसार जोखिम भारित सम्पत्ति गणना नगरेको तथा प्रिमियम दरमा निर्देशनविपरीत पटकपटक वृद्धि गरेको कसुर राष्ट्र बैंकले भेटाएको छ ।

यसकारण सिटजन्स बैंकका प्रमुख कार्यकारी अधिकृतलाई कारबाहीस्वरूप सचेत गराइएको राष्ट्र बैंकले बताएको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाहीमा परेका बैंकहरूको विवरण हो । पछिल्ला वर्षमा सम्पत्ति शुद्धीकरण र नियामकीय निर्देशन पालना नगर्ने बैंकको संख्या लगातार बढ्दो छ ।

चर्चामा

सम्बन्धित समाचार