सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • नवलपरासीकी पत्रकार शर्माको मृत्यु

नवलपरासीकी पत्रकार शर्माको मृत्यु

  • बुधबार, कार्तिक ८, २०८०
नवलपरासीकी पत्रकार शर्माको मृत्यु

परासी– नवलपरासीकी पत्रकार सीता शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माले १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी)मा छोरीलाई जन्म दिएकी थिइन् ।

‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो । अवस्था सामान्य भएको ८ दिनपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा ल्याइएको थियो । मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि काठमाडौं लैजाने क्रममा बाटोमा थप जटिल समस्या देखिन थालेपछि उनलाई परासीस्थित जिल्ला अस्पतालमा पुर्‍याइएको थियो ।

जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्‍याइएकी शर्मालाई अस्पतालले मृत्यु घोषणा गरेको परिवारजनले जानकारी दिएको छ । सामुदायिक सूचना नेटवर्क (सिएनन), माउण्टेन टेलिभिजन, रेडियो परासीलगायतका सञ्चामाध्यममा काम गर्दै आएकी पत्रकार स्व. शर्मा पछिल्लो पटक केही अनलाइनमा आवद्ध थिइन् ।

उनी क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) नवलपरासीकी संस्थापक अध्यक्षसमेत हुन् । पत्रकार स्व. शर्माका पति राजेश साहनीसमेत पत्रकार महासंघका सदस्य हुन् । उनीहरुले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएका हुन् । छोरीको अवस्था भने स्वस्थ रहेको परिवारजनले जनाएको छ ।

यसैबीच पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले एक शोक वक्तव्य निकालेर महिला अधिकारको क्षेत्रमा सञ्चारमाध्यममार्फत कलम चलाउँदै आएकी पत्रकार शर्माको निधनले महासंघ स्तब्ध भएको जनाएको छ । पत्रकार स्व. शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणगर्दै शोक वक्तव्यमा परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार