धनगढी– सुदूरपश्चिम प्रदेशमा सहमतिमै नेतृत्व चयनको प्रयासमा रहेका एमाले नेताहरूबीच उपसचिव पदमा सहमति नजुट्दा निर्वाचन प्रक्रिया थप लम्बिएको छ ।
उपाध्यक्षमा मनोनयन दर्ता गरेका ५ जना नेतालाई उम्मेदवारी फिर्ता गर्न लगाएर कालीबहादुर शाही सर्वसम्मत चुनिदा उपसचिवमा सहमति भएको छैन ।
अध्यक्षका उम्मेदवार भरत साउद पक्षले उपसचिवमा नरबहादुर बिकको नाममा सहमति गरेर अध्यक्ष र सचिव पदको उम्मेदवारी फिर्ता लिने सर्त अघि सारेका छन् ।
अध्यक्षका उम्मेदवार साउद नेता भीम रावल निकट मानिन्छन् । यो समूहको नेतृत्व गरिरहेका नेता झपट रावलले उपसचिवमा बिकको नाममा सहमति भए मात्र अध्यक्ष र सचिव पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अनलाइनखबरलाई बताए ।
‘उहाँहरूले मनोनयन दर्ता नगराएकाहरूलाई उपसचिव बनाउन खोज्नुभएको थियो तर हामीले त्यो विधिसम्मत हुँदैन भनेपछि रोकिनुभयो,’ रावलले भने, मनोनयन गराएकाहरूकै नाममा सहमति खोजौं भन्ने हो । उपसचिवमा नरबहादुर बिकलाई ल्याउदा अध्यक्ष पदमा पनि कुरा मिल्छ तर उहाँहरू तयार देखिनुभएको छैन । हेरौं ।’
रावलले बिकलाई उपसचिव बनाए मात्र अध्यक्षका उम्मेदवार साउद र सचिवका उम्मेदवार रतनबहादुर रेग्मीको उम्मेदवारी फिर्ता हुने बताए ।
संस्थापन पक्षका अशोककुमार चन्दलाई उम्मेदवारी फिर्ता गर्न लगाएर बिकलाई उपसचिव बनाउन नेताहरू तयार छन् तर दुवै उपसचिव (महिला)मा सहमति नबन्दा समस्या भएको नेताहरू बताउँछन् ।
कन्दकला राना र भागरथी विष्टमध्ये उपसचिव कसलाई बनाउने भन्ने सहमति नहुँदा समस्या भएको एक नेताले बताए । तर, सहमति खोज्ने प्रयास जारी राखिएको छ ।
नेताहरूकै आग्रहमा निर्वाचन समितिले भने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको छैन ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले भने अब आफूहरूले प्रक्रिया अघि बढ्ने बताए ।
२१ गतेदेखि सुरू भएको एमालेको प्रदेश अधिवेशन केन्द्रीय निर्देशनअनुसार नेताहरू सहमति खोज्न थालेपछि पाँच दिनसम्म लम्बिएको छ।