सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • रामारोशन राम लाग्या छ…

रामारोशन राम लाग्या छ…

  • सोमवार, अशोज २२, २०८०
रामारोशन राम लाग्या छ…

गिता कुवर/ अछाम — स्वर्गको टुक्रा रामारोशन। शब्दमा सुन्दरताको जति बखान हुन्थ्यो, स्पर्श गर्न आउने निकै कम हुन्थे। आजभोलि भने रामारोशन फुरुङ्ग छ। दिनहुँ राम (जात्रा) लागेको छ। एक सातादेखि पराई देशका पाहुनाहरू रामारोशनको सुन्दरतासँग लुटुपुटु गर्दै छन्। अझै एक महिनाजसो उनीहरू रामारोशनमै बिताउनेछन्।

‘वल्र्ड रेन्बो फेमिली’ नामक समूहका ६ सय ९१ जना विदेशी पर्यटक रामारोशनमा रमाइरहेका छन्। अमेरिका, क्यानडा, पोल्यान्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्यान्ड, जापान, नर्वे, चीन, भारत, इजरायललगायत ४६ देशका पर्यटक रामारोशन घुम्न आएका हुन्। पर्यटक आउने क्रम जारी नै छ। रोशन मैदानमा टेन्ट बनाएर बसेका छन्। पर्यटकहरू कोही योगा गर्ने, कोही बाटुलातालमा डुंगा सयर गर्ने, कोही गाउने, कोही नाच्ने गर्छन्। रामारोशनमा दैनिक रौनक छाएको छ। फ्रान्सका गियुडिसिला रामारोशनको प्राकृतिक सुन्दरताले दंग छन्। विश्वका धेरै ठाउँ घुमे पनि रामारोशन जस्तो सुन्दर स्थान नभेटेको उनले बताए। ‘यहाँको जस्तो वनजंगल, ताल, पहाड सबै एकै ठाउँमा भएको मैले कहीँ देखेको छैन,’ उनले भने, ‘सिमसार र सुक्खा ठाउँ एकै स्थानमा छ। आहा, कति राम्रो हो। मनै आनन्द छ।’

‘धर्तीको स्वर्ग’ पर्यटकीय क्षेत्र रामारोशन गाउँपालिका–५ मा पर्छ। उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसे मैदान छन्। जसलाई बाह्र बन्ड अठार खण्डको नामले पनि चिन्ने गरिन्छ। यहाँ रातो, सेतो, गुलाबी रंगका गरी ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे पाइन्छन्। विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशनमा लोपोन्मुख वन्यजन्तुको समेत बासस्थान छ। करिब १० बिघाभन्दा बढी क्षेत्रफलमा मैदान र ३ वटा ताल फैलिएका छन्। समुद्री सतहदेखि करिब ३ हजार मिटरको उचाइमा छ रामारोशन।

प्रकृतिको वरदान रामारोशनले पहिलोपटक ठूलो संख्यामा विदेशी पर्यटकलाई स्वागत गरेको हो। पाहुनाहरू पनि स्थानीय देउडा संस्कृति र खानपानसँग नजिकिइरहेका छन्। विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्र विकास समिति रामारोशनले बुधबार पर्यटकहरूसँग देउडा तथा सांस्कृतिक कार्यक्रम गर्‍यो। स्थानीयहरूसँग पैतला (पाइतोला) मिलाउँदै न्याउला खेल खेले। पर्यटकलाई थप मनोरञ्जन दिलाउन स्थानीयवासी र समितिले विभिन्न कार्यक्रम गरिरहेका छन्।

रामारोशन पर्यटन सँगै महत्वपूर्ण धार्मिकस्थल पनि हो। पर्यटकले पनि दैनिक दीप प्रज्ज्वलन गर्ने र योगा गर्ने गरेको स्थानीय पुष्प बिष्ट बताउँछन्। एकैपटक सयौंको संख्यामा विदेशी पाहुनालाई स्वागत गर्न पाउँदा रामारोशनवासीमा उत्साह छाएको बिष्टले बताए। ‘रामारोशनमा दैनिक राम लाग्याको छ,’ विष्टले भने।

स्विडेनका समिटासेरालाई रामारोशन कहिल्यै नछोडौं झै लागेको छ। ‘सधैंभरि यही बसौं जस्तो लागेको छ,’ उनले भने, ‘जताजतै हराभरा र सुन्दरता छ। यहाँका मानिसहरू निकै मायालु छ। अछाम त साँच्चिकै स्वर्ग जस्तो लाग्यो।

अधिकांश पर्यटक परिवारसँगै

अधिकांश पर्यटकहरू परिवारसहित घुम्न आएको रामारोशन क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपीप्रसाद खनालले बताए। ४ सय ११ पुरुष, २ सय ६९ महिला र ५ बालबालिका छन्।

पर्यटकमा इन्जिनियर, डाक्टर, प्रोफेसर, शिक्षकलगायत पेसामा आबद्धहरू हुन्। ‘म दैनिक पर्यटकहरू सँगै छु,’ अध्यक्ष खनालले भने, ‘यहाँको हरियाली प्रकृतिमा योगा/ध्यान गर्ने र गीत–संगीतमा रमाउने गरेका छन्। हाम्रो संस्कृतिसँग उनीहरू र उनीहरूको संस्कृतिसँग हामी पनि रमाइरहेका छौं।’

धेरै देशका नागरिकहरू जात, धर्म र समुदाय नभनी एकै ठाउँमा आत्मीयतामा साथ रमाइरहेको खनालले बताए। उनीहरू सबै एकै ठाउँ भेला भएर सबै धर्मको दैनिक पूजा गर्ने र ढुंगाले शिवका मन्दिर बनाएर दीप बाल्ने गरेको खनालले बताए।

दूधदेखि सिस्नोको व्यापार

रामारोशन क्षेत्र दूधका लागि प्रख्यात छ। अधिकांशले यहाँ भैंसी पाल्ने गर्छन्। पर्यटकको आगमनसँगै दूधजन्य पदार्थको खपत पनि ह्वात्तै बढेको छ। यहाँका किसानले उत्पादन गरेका कृषि उपजहरू मकै, मकैैको पिठो, दूध, दही र मोही मात्र होइन, सिस्नो पनि बिक्री भइरहेको छ। पर्यटकहरूको ओइरो लागेपछि यहाँको व्यापारसमेत ह्वात्तै बढेको छ। पर्यटक बोकेका ५÷६ वटा गाडी रामारोशन र स्थानीय मुजाबगरमा दैनिक आवात जावत गरिरहेका छन्। गाडी भाडाबापत पनि राम्रै कमाई भइरहेको व्यवसायीहरू बताउँछन्। धेरै देशका पर्यटक एकैपटक घुम्न आउनु नै ठूलो उपलब्धि भएको स्थानीय पूर्ण विकले बताए।

भौगोलिक बिकटताका कारण भने रामारोशन पुग्न समस्या हुने गरेको बताए। सडक राम्रो नहुँदा भने पर्यटकलाई समस्या हुने गरेको उनले बताए। ‘लामो समयदेखिको बाह्य पर्यटकको पर्खाइमा थियौं,’ विकले भने, ‘यसपटक पूरा भएको छ। पाहुनालाई राम्रो व्यवहार र सेवा सत्कार गरेर सकारात्मक सन्देश दिन जरुरी छ।’ पर्यटनको माध्यमबाट रामारोशनलाई समृद्ध बनाउन सकिने भन्दै उनले यसको प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए।

फुल मुन विशेष दिन

रेन्वो फेमिलीको मुख्य दिन शुक्रबार (पूर्णिमा) थियो। पूर्णिमाको राति ‘फुल मुन’ भन्दै उनीहरूले विशेष रमाइलो गरेका थिए। उनीहरूले चन्द्रमा उदाउन सुरु भएदेखि पूर्णिमा सम्मको एक महिनाको अबधिमा ‘वल्र्ड रेन्बो ग्यादरिङ’ आयोजना गर्ने गर्छन्। सबै कुरा छोडेर एक महिना पूर्णरूपमा अलग संसारमा उत्सव मनाउने गर्छन्। जहाँ न टेलिफोन हुन्छ। न मोबाइल। न टीभी। न त सञ्चारका कुनै माध्यमहरू। नितान्त उनीहरू आफैं गाएर, आफैं बजाएर रमाउने गर्छन्।

रामारोशनमा नरमाउने को होला ?

एक दिनमा घुमेर सकिँदैन रामारोशन क्षेत्र। एउटा ताल मात्रै परिक्रमा गर्न पनि घण्टौं लाग्छ। रामारोशन क्षेत्र पुग्ने जो कोहीको पनि एकैक्षणमा लामो यात्राको थकान मेटिन्छ। यहाँ घुम्नलाई नयाँ वर्षको समय अनुकूल मानिन्छ। बाटुल्ले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताललगायतका तालले समेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन्। यहाँ तालहरू मात्रै छैनन्, अग्ला अनि उत्तिकै आकर्षक मैदानहरू पनि छन्। बाह्रवटा तालहरूमा सबैभन्दा ठूलो ताल जिंगले ताल हो। जसको आकार अंग्रेजीको सी जस्तो छ। मैदानहरूमध्ये किनीमिनी मैदान सबैभन्दा ठूलो हो। जसको बीच भएर कैलाश खोला बग्दछ। यसको केही माथि रोशन मैदान छ।

बसन्त ऋतु र नयाँ वर्षमा रामारोशन घुम्न आउने पर्यटकलाई सन्तुलित वातावरण र अनुकूल मौसमसमेत पाइन्छ। साना ठूला ताल वरपरका मैदान मात्रै होइन रामारोशनको परिचय र पहिचान झल्काउनका लागि यहाँ अन्य थुप्रै प्राकृतिक स्रोत रहेको स्थानीय बताउँछन्। रामारोशन क्षेत्रभित्र लोपोन्मुख जंगली जनावरदेखि बहुमूल्य जडीबुटी पनि प्रशस्तै पाइन्छन्।

रामारोशन घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटका लागि महत्वपूर्ण मानिन्छ। रामारोशन पर्यटनसँगै धार्मिक रूपले पनि उत्तिकै महत्वपूर्ण रहेका छ। त्यहाँका तालहरूलाई देवी मानिन्छ । कैलाश खोलाको मुहान रामारोशन भएकाले पनि शिवको रूपमा मान्ने चलन छ। किनिमिनी पाटनलाई कृष्ण भगवान् स्वरूप मान्ने गरिएको स्थानीयको भनाइ छ।

केही दिन रोकिए, पछि जान दिइयो

पूर्वसूचनाबिना एकैपटक ठूलो संख्यामा विदेशी आएको भन्दै स्थानीय प्रशासनले अछाम प्रवेशमा रोक लगायो। पर्यटकहरू अछाम प्रवेश नाका चौखुट्टे र बेलखेतमा रोकिएका थिए। रामारोशन बसाइको छुट्टै अनुमति लिनुपर्ने भन्दै प्रशासनले रोकेको थियो। पर्यटकलाई रोक लगाएको विषय गृह मन्त्रालसम्म पुग्यो। मन्त्रालयले असोज ३ गते अनुमति दिएपछि पर्यटक रामारोशन पुगेका थिए। अनन्नपूर्ण पोष्टबाट

चर्चामा

सम्बन्धित समाचार