• होमपेज
  • देश
  • प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली धनगढीमा, भीम रावललाई फेरि उपेक्षा

प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली धनगढीमा, भीम रावललाई फेरि उपेक्षा

  • आइतवार, अशोज २१, २०८०
प्रदेश अधिवेशनका लागि अध्यक्ष ओली धनगढीमा, भीम रावललाई फेरि उपेक्षा

धनगढी —नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन्। अधिवेशनमा प्रदेश कमिटिको नेतृत्व चयनका लागि नौवटै जिल्लाबाट गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएर धनगढी आइपुगेका छन्। तर नेता भीम रावललाई भने अधिवेशनमा आमन्त्रण गरिएको छैन्।

एमालेले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अधिवेशनका लागि सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट रहेको जनाएको छ। दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट एक सय २८ जना प्रतिनिधि चयन भएका आएका छन्। १३ वटा स्थानीय तह रहेको कैलालीबाट बाजुराभन्दा कम १ सय १७ जना प्रतिनिधिमात्र छन्।

त्यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेलधुराबाट १८ जना प्रतिनिधि रहेका अधिवेशन आयोजक कमिटिले जनाएको छ। त्यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ। कूल प्रतिनिधि संख्यामा एक सय ७८ जना महिला रहेका छन्। अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए। उनको भव्य स्वागत गर्ने आयोजकको तयारी छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म तीन जनाले अध्यक्षको पदमा आफ्नो दाबी सार्वजनिक गरेका छन्। कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन्। जैसी र तिमिल्सिना अछामका हुन् भने सिंह कञ्चनपुरका हुन्।

नेतृत्व चयनका लागि अगुवा नेताहरुको छातामा समूहगत प्रतिस्पर्धा हुने देखिएको छ। वर्तमान अध्यक्ष दामोदर भण्डारी, केन्द्रीय सचिव लेखराज भट्ट समूह एकातिर र कर्णबहादुर थापा समूह अर्कोतिर विभाजित देखिएका छन्। भण्डारी र भट्टको साथ तिमिल्सिनालाई रहेको देखिएको छ भने थापा पक्षधर नेता कार्यकर्ताहरुको साथ जैसीलाई रहेको एमाले कार्यकर्ताहरु बताउँछन्।
भीम रावललाई फेरि उपेक्षा
नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेता भीम रावलको क्षेत्र सुदूरपश्चिम हो। तर, एमाले सुदूरपश्चिम प्रदेशको अधिवेशनमा उनलाई आमन्त्रण गरिएको छैन्। अछाम जिल्लाबाट पटक–पटक सांसद बनेका रावललाई पार्टीले अधिवेशनमा आमन्त्रण गरिएको छैन्। पार्टी सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले भने ‘प्रदेश अधिवेशनमा प्रतिनिधिहरुले नै पदाधिकारी तथा सदस्य चयन गर्छन्।

यसमा कुनै नेताको हस्तक्षेप हुँदैन्। भीम रावल केन्द्रिय नेता हुन्। केन्द्रिय पदाधिकारी तथा सदस्य चयनमा उहाँको चासो हुन्छ। प्रदेश, जिल्ला तथा वडामा उनको चासो छैन्।’ रावल चितवनमा भएको दशौं अधिवेशनमा केन्द्रिय अध्यक्षमा पराजित भएका थिए। त्यसयता पार्टीभित्र उनी कुनै पदमा छैनन्।

प्रदेशमा हुन लागेको अधिवेशनमा प्रदेश सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र नेता कर्ण थापालाई आमन्त्रण गरिए पनि रावललाई कुनै जानकारी नगराएको इन्चार्ज विश्वकर्माले बताए। इन्चार्ज विश्वकर्माले भने –‘एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ। त्यसमा नेतृत्वका लागि छलफल गरिने छ। समझदारीमै नेतृत्व चयन हुने छ।’ प्रदेशमा अध्यक्ष सहित उपाध्यक्ष र सचिव एक/एक र सह–सचिवमा दुई जना रहने छन्।

सहिद गौतमको सालिकमा माल्यार्पण गर्न ओली पुनर्वास पुगे
नेकपा एमाले सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली आइतबार बिहान धनगढी पुगेका छन्। ओलीलाई धनगढी विमानस्थलमा यहाँका नेता कार्यकर्ताले स्वागत गरेका थिए। प्रदेश अधिवेशन उद्घाटन गर्नु अघि ओली कञ्चनपुरको पुनर्वासस्थित सहित गोविन्द गौतमको स्मृति पार्कमा पुगेर सालिकमा माल्यार्पण गरेका छन्। अध्यक्ष ओलीसंगै महासचिव शंकर पोखरेल लगायत एमालेका शीर्ष नेताहरु धनगढी आएका हुन। ओली प्रदेश अधिवेशन उद्घाटन गरेर आइतबार नै काठमाडौँ फर्किने कार्यक्रम छ।

चर्चामा

सम्बन्धित समाचार