बाजुरा–बझाङमा केन्द्रबिन्दु बनाएर पटक पटक आइरहने भुकम्पको पराकम्पनले स्थानिय त्रसित बन्दै आएका छन् । मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । बझाङमा गएको भूकम्पले बाजुरा, बझाङ्ग र अछाममा सयौ घर जोखिममा बनाएको छ । धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पुरै चिराचिरा भएकाले बस्न लायक नभएको स्थानियले वताएका छन् । बिद्यालयलका भवन पनि भत्किएका छन् ।
बाजुराको बुढिगंगा नगरपालिका ९ जुवापानी बस्ने भोबिन्द्र नेपाली घर मंगलवार आएको भुकम्पले घर चिरा चिरा बनाएको छ । घर बस्न लायक नै नभएपछि घर नजिकै चौरमा पाल टागेर बसेका छन् । ७ जनाको परिवार एउटै पालमा चिसो सँगै रात बिताइरहेका छन् । सोहि गाउँका काले नेपालीको घर पनि चत्किएको छैन्, तर पुरै घर चिरा चिरा भएपछि घर छोडेर खुला ठाउँमा बस्दै आएका छन् ।
जुवापानी गाउँमा डेढ सय परिवार मध्ये अधिकांशका घर पुरै चिरा चिरा रहेकाले घर छोडेर कोही पालमा र कोही खुला ठाउँमा बस्दै आएको वडा अध्यक्ष मिन बहादुर सिंहले वताएका छन् । पटक पटक भुकम्पको पराकम्पने स्थानिय त्रसित भएका छन् । जोखिम बनेका घरमा कोही पनि बस्ने नगरेको सिंहले वताएका छन् । यो गाउँ बझाङ सँग नजिकै पर्ने गरेको छ ।
बाजुराको बझाङ सँग जोडिएको बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिका, खप्तडछेडेदह गाउँपालिकामा केही घर भत्किएको र केही घर जोखिममा रहेका छन् । बाजुरा जिल्लाभरी नै जोखिममा रहेका छन्, तिनवटा पालिका सबैभन्दा बढी जोखिममा रहेका छन् ।
मंगलवार गएको भुकम्पले बाजुरामा ८८ वटा घर पुर्ण रुपमा क्षति, ९५ घर आंशिक र सामान्य १ सय ५१ रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । १० वटा बिद्यालय तथा सरकारी कार्यलयमा क्षति पुयाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
मंगलबार आएको भूकम्पसँगै पहिरोमा पुरिएर बझाङको जयपृथ्वी नगरपालिका–११ की महिला स्वयंसेविका गुनमती धामीको मृत्यु भएको थियो । बझाङ जिल्ला प्रशासनले भूकम्पका कारण जिल्लाभरि ३ सय १५ वटा निजी घर र २१ वटा विद्यालय, वडा कार्यालयलगायत सरकारी भवनहरू भूकम्पले पूर्ण क्षति भएको जनाएको छ ।
भूकम्पविद्हरूका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ । दुई प्लेटबीचको घर्षणका कारण नेपाल सधैं भुइँचालो जान सक्ने अधिक जोखिमको क्षेत्रमा छ । भुइँचालो नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला ठूलो भूकम्प जाने खतरा हुन्छ ।
भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।
२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिमको क्षेत्रमा छ ।