बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • आफ्नो चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको विश्वास

आफ्नो चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको विश्वास

  • शुक्रबार, भदौ २९, २०८०
आफ्नो चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा दुई देशबीच परम्परागत रुपमा घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

आफ्नो संयुक्त राष्ट्रसंघ र चीन भ्रणका विषयमा शुक्रबार प्रतिनिधिसभा बैठकमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो औपचारिक चीन भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको उनले बताए । चीन भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने प्रयास रहने जिकिर गरे । चीनमा रहँदा हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिसँग भेटघाटको कार्यक्रम रहेको र सोही १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने उनले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्समा पुगेर अवलोकन गर्ने र छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको बताए । त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गर्ने उनले बताए । सो अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने जलवायु परिवर्तनको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी रहेको उनले जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले सदनमा उठेका विभिन्न बिषयको जवाफ दिदै अवैध सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताए । यसैगरी, नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको र आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराए । यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार