सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा गौरापर्वको रौनक सुरु

सुदूरपश्चिममा गौरापर्वको रौनक सुरु

  • बिहिबार, भदौ ७, २०८०
सुदूरपश्चिममा गौरापर्वको रौनक सुरु

धनगढी — सुदूरपश्चिमको मौलिक पर्वका रुपमा रहेको गौरा पर्वको रौनक सुरु भएको छ। सुदूरपश्चिमको बाजुरामा भने गौरा पर्व मनाइँदैन।

अछामका केही भाग र अरू जिल्लाका अधिकांश भागमा मनाइने गौरा पर्व भदौको ४ गतेदेखि नै सुरु भएको हो। बिहीबार अष्‍टमीका दिन गौरीको मन्दिरमा गएर निराहार बसेका महिलाहरूले गौरा मनाएका छन्।

‘पञ्चमीको दिनदेखि नै गौरा पर्वको औपचारिक सुरुवात भएको छ। बिहीबार अथवा अष्‍टमीको दिन मुख्य दिन हो’ व्रतालु अम्बिका भण्डारीले भनिन्। पञ्चमीका दिन पाँचवटा अनाजहरू गहुँ, गहत, गुराँस, केराउ र मास भिजाएर गौराको औपचारिक सुरुवात हुने गर्छ। त्यस पञ्च अनाजलाई स्थानीय भाषामा ‘विरुडा’ भनिन्छ।

षष्टिका दिन नजिकको तलाउ वा कुण्डमा गएर विरुडा धुने, सप्तमीका दिन घरभित्र राख्ने र अष्‍टमीका दिन गौरीको मन्दिरमा गएर परिवारका सदस्यहरूको टाउको पुजा गरिन्छ। गौरीको निराहार ब्रत बसेर विवाहित महिलाहरूले पुरुषको जनेउ जस्तै दुबधागो लगाउने चलन छ। गौरीको व्रत बस्नु मात्रै गौरा होइन। महिलाहरू र पुरुषहरूले देउडा खेलेर रमाइलो पनि गर्ने गरिन्छ।

‘प्रदेश भरी गौराका बेला देउडा खेलहरू, प्रतियोगिताहरू हुने गर्छन्। तराई र पहाडका हरेक गाउँमा रौनक छाएको छ’ बैतडी समाज कैलालीका अध्यक्ष माया प्रकाश भट्ट,ले भने। यसपाली सुदूरपश्चिममा गौराका लागि दुईवटा तिथि परेका छन्।

केहीले भदौको ४ गतेको तिथि मानेर गौरा मनाएका छन भने केहीले भदौको २१ गते गौरा मनाउने भएका छन्। प्रदेशवासी बीच भाइचारा दर्साउने मौलिक गौरा पर्व दुईवटा भएपछि केही खल्लो पनि भएको जानकारहरू बताउँछन्।

धनगढीको वनदेवी गौरा मन्दिरका पुजारी पुष्पराज अवस्थीले ज्योतिषहरूबीच एकमत नहुँदा दुई वटा गौरा मनाइएको बताए। ‘यस्तो पर्वमा एउटै निर्णय हुनुपर्छ। तर यसपाली त्यो देखिएन। त्यसैले प्रदेशभरी दुई दिन गौरा मनाइने भएको छ’ पुवारी अवस्थीले भने। ‘यसले अली खल्लो महसुस भएको छ।’

नेपाल पञ्चांग निर्णायक विकास समितिले भदौ ७ गतेको गौरा मनाउने निर्णय गरेको थियो। त्यही निर्णय अनुसार प्रदेश सरकारले प्रदेश भरी भदौ ७ र ८ गते दुई दिन गौराको बिदा दिएको छ।

चर्चामा

सम्बन्धित समाचार