• होमपेज
  • देश
  • जसपाकी निर्मला लिम्बू कोसी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त

जसपाकी निर्मला लिम्बू कोसी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त

  • शुक्रबार, साउन २६, २०८०
जसपाकी निर्मला लिम्बू कोसी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त

विराटनगर — जनता समाजवादी पार्टी (जसपा)की प्रदेशसभा सदस्य (प्रदेश सांसद) निर्मला लिम्बू कोसी प्रदेशको स्वास्थ्य मन्त्री नियुक्त भएकी छन्।

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री उद्धव थापाले उनलाई शुक्रबार मन्त्री नियुक्त गरेका हुन्। लिम्बूले शुक्रबार नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएकी लिएकी छन्।

कोसीको ९३ सदस्यीय प्रदेशसभा (संसद)मा लिम्बू जसपाबाट एक्ली सांसद हुन्। उनी दोस्रोपटक प्रदेशको मन्त्री बनिन्। यसअघि नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि उनी स्वास्थ्य मन्त्री थिइन्।

प्रदेशको नाम कोसी राखेको विषयमा असहमति जनाउँदै कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन गत जेठ १७ गते फिर्ता लिँदै जसपाले उनलाई फिर्ता बोलाएको थियो। पुनः लिम्बू मन्त्री बनेपछि कोसी प्रदेशको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ।

प्रदेशमा यसअघि पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिँचाई तथा उर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।

प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने र बहुपहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने अडानमा जसपा थियो। त्यही माग राखेर जसपा हिक्मत कार्की नेतृत्वको सरकारबाट फिर्ता भएको थियो। तर अहिले पुनः थापा नेतृत्वको सरकारमा सहभागी भएपछि जसपामाथि नामकरणको मुद्दा भुलेको आरोप लागेको छ।

सत्तामा पुग्ने हतारोकै कारण आफ्ना माग र मुद्दामा अडिग हुन नसकेको भनेर जसपाको आलोचना हुन थालेको हो। प्रदेश नामकरणसँग सम्बन्धित माग सम्बोधन नभएसम्म तथा सम्बोधन गर्ने लिखित प्रतिवद्धता नआएसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र सरकारमा पनि सहभागी नहुने अडान जसपाको थियो।

जसपाको राजनीतिक समिति सदस्य एवं प्रदेशका पूर्वमन्त्री जयराम यादवले पार्टी केन्द्रले नै दिएको निर्देशन अनुसार जसपा सरकारमा सहभागी भएको छ। आफूहरूले उठाएका मागलाई वर्तमान सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएको उनको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार