मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

  • शनिबार, साउन १३, २०८०
बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

बाजुरा— अविरल वर्षासँगै आएको बाढी पहिरोबाट बाजुरामा १३ परिवार विस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेका छन ।

हिमाली गाउँपालिका– ३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको छ ।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले बताए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।

साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका ७ गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन ।

उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ ।

पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई विद्यालयमा सारिएको  उपाध्यक्ष थापाले बताइन  ।

घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको बताइएकाे छ ।गौमुलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा रहेका गाउँपालिकाले जनाएकाे छ।

बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोेखिममा छन् । उनीहरुले अहिले पनि पाँल टाँगेर बस्नुपर्ने, रातभर जागराम हुनुपर्ने बाध्य छन् ।

भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले जमिन चिराचिरा परेकाले  घर झनै जोखिम रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार