बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • कालोपत्रे गरिएको मदन भण्डारी राजमार्ग जीर्ण अवस्थामा

कालोपत्रे गरिएको मदन भण्डारी राजमार्ग जीर्ण अवस्थामा

  • बुधबार, साउन ३, २०८०
कालोपत्रे गरिएको मदन भण्डारी राजमार्ग  जीर्ण अवस्थामा

गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास सिमलटारी सडकखण्ड जीर्ण बन्न थालेको छ ।

सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ । तर, बर्खा लागेसँगै सडक सवारी साधन सञ्चालन हुन कठिन हुने अवस्थामा पुगेको छ ।

सहायक सडक विस्तारको क्रममा लापराबाही हुँदा राजमार्ग अन्तर्गतको सडको यो अवस्था भएको हो ।

सहायक सडक विस्तारको क्रममा फालिएको ढुंगा माटोले कालोपत्रे सडक घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य बन्ने गरेको छ ।

बर्खायाममा सडकमा फालिएको माटोले हिलाम्य भएपछि अहिले कालोपत्रे सडक हो या होइन भनेर छुट्याउन नसकिने अवस्था छ । जसले गर्दा सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।

सडकको रैदी राखेढुंगा, छल्दीलगायतका धेरै ठाउँमा सहायक सडक विस्तारको क्रममा फालिएको माटोले कालोपत्रेको नामनिशाना मेटिएको छ ।

सडकको केही स्थानमा निजी जग्गाबाट ढुंगा निकाल्ने कार्य हुँदा पनि ठाउँठाउँमा कालोपत्रे बिग्रेको छ ।

कालोपत्रे सडकमाथि चेनवाला डोजर प्रयोग गरेर ढुंगा निकाल्ने कार्य भइरहेको छ । सडक छेउमा ढुंगा निकाल्ने क्रममा खनिएको माटो पनि सडकमै फालिएको छ ।

कतिलपय स्थानमा नालिबाट बग्नु पर्ने भेल पनि सडकबाटै बग्ने गरेको छ । जसले गर्दा अहिले वर्षातको समयमा सडक हिलाम्य छ ।

सडक बनाउने क्रममा कालोपत्रे गरिएको संरचना बिगार्न नहुने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

उनले सडक बिस्तारको क्रममा कालोपत्रे सडकमा क्षति भएको भए तुरुन्तै मर्मत गर्न सम्बन्धित कार्यालय ध्यानाकर्षण गराएको बताए ।

राज्यले करोडौं मूल्य खर्चेर निर्माण गरेको सडक संरक्षणमा सबैले ध्यानदिनु पर्ने स्थानीय झबी पाण्डेले बताए ।

यस्तै कार्य गर्दै गए कालोपत्रे सडक छिट्टै नै पूरै भत्किंदै जाने भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्ने पाण्डेको भनाइ छ ।

मदनभण्डारी राजमार्गको विभिन्न ठाउँमा सडक बिग्रिएपछि अहिले मर्मत पनि गरिएको छ । मर्मत गर्ने क्रममा केही स्थानमा सडक छेउबाटै ढुंगा निकाल्ने कार्य गरिएको थियो ।जसले गर्दा सडक ठाउँठाउँमा जीर्ण बन्न थालेको हो ।

सडक विस्तारको क्रममा क्षति भएको स्थानमा निर्माण व्यवसायीले राजमार्ग पहिले जस्तै बनाइदिनुपर्ने मदनभण्डारी राजमार्ग कार्यालय गुल्मीका सूचना अधिकारी इन्जिनियर विरेन्द्र प्रकाश गुप्ताले बताए ।

राजमार्गका केही स्थानमा सहायक राजमार्ग विस्तार गर्दा समस्या रहेको उनको भनाइ छ ।

अहिले मदन भण्डारी राजमार्गमा कार्यालयले पनि पहिरो फाल्ने र केही स्थानमा ग्याभिङ वाल लगाउने कार्य गर्ने क्रममा सडकमा राखिएका ढुंगा माटो भने हटाइने इन्जिनियर गुप्ताले बताए । कार्यालयले ठेक्का लगायका बाहेक सहायक राजमार्ग विस्तारको क्रममा भने समस्या रहेको गुप्ताले बताए ।

केही दिनअघि रैदीमा ढुंगा निकाल्ने क्रममा सडकमा फालिएको माटो निर्माण व्यवसायीले उठाइदिने भनेर जानकारीमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।

उनले सडक विस्तार र मर्मतको क्रममा कालोपत्रे सडक बिगार्ने भत्काउने कार्य कसैले पनि गर्न नपाइने बताए ।

राजमार्गको विभिन्न ठाउँमा निर्माण व्यवसायीले काम गर्दा क्षति भएको स्थानमा तुरुन्तै मर्मत र पहिले जस्तै बनाउनको लागि सम्बधित कार्यालयलाई ध्यानकर्षण गराइएको प्रमुख जिल्ला अधिकारी केसीको भनाइ छ ।

पाँच वर्ष पहिले करिब एक अर्बको लागतमा तम्घासबाट सिमलटारीसम्म २९ किलोमिटर सडक कालोपत्रे गरिएकोमा कतिपय स्थानमा जीर्ण र भत्किसकेको छ ।

राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारीसाधान आउजाउ गर्दछन् ।

चर्चामा

सम्बन्धित समाचार