सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • रूसकै निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले नियन्त्रणमा लिन थाल्यो रूसका सहर

रूसकै निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले नियन्त्रणमा लिन थाल्यो रूसका सहर

  • शनिबार, असार ९, २०८०
रूसकै निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले नियन्त्रणमा लिन थाल्यो रूसका सहर

रूसको निजी सैन्य कम्पनी ‘वागनर समूह’ ले दक्षिणी सहर रोस्तोव-अन-डनको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको छ। वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेको बिबिसीले जनाएको छ। वागनर समूह रूसकै निजी सैन्य संस्था हो।

रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रूसकै विरूद्धमा उत्रिएको छ। प्रमुख प्रिगोजिनले रोस्तोव सहरका सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत् दाबी गरेका हुन्। उनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका छन्।

उनले न्यायका लागि २५ हजार सेना मस्कोतर्फ लागेको दाबी गरेका छन्। प्रिगोजिनले आफूलाई रोक्न खोज्ने जो-कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बिबिसीले जनाएको छ। स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन भनेका छन्।

प्रिगोजिनले रूसी सैन्य प्रमुखको आलोचना गर्दै आएका थिए। शुक्रबार भने आफ्ना सैनिकमाथि रूसी सैनिक प्रमुखले मिसाइल आक्रमण गरेको उनले आरोप लगाएका छन्।  आफ्ना सैनिकमाथि आक्रमण गरेको भन्दै प्रिगोजिनले रूसी सैनिक प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

‘जसले हाम्रा केटाहरू, र दसौं हजार रूसी सैनिक (युक्रेन युद्धमा) मारे, उनीहरूलाई सजाय दिइनेछ,’ टेलिग्राममा हालिएको अडिओ मेसेजमा भनिएको छ, ‘म यसको प्रतिकार नगर्न चेतावनी दिन चाहन्छु। जसले हामीलाई रोक्न खोज्छ उसलाई हामी खतराको रूपमा लिएर ध्वस्त पार्नेछौं।’

उनले थपे, ‘यो कुनै सैन्य कू होइन। तर यो न्यायको लागि यात्रा हो।’ रोयटर्सका अनुसार वागनर समूहले भरोनेजमा रहेको सैनिक क्षेत्रलाई पनि नियन्त्रणमा लिएको छ। मस्कोमा सबै सामाजिक कार्यक्रम पनि रद्द गरिएका छन्।यसबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि जानकारी लिएको क्रेमलिन प्रवक्ताले बताएका छन्। जानकारी लिएसँगै उनले टेलिभिजनमार्फत् सम्बोधन समेत गरेका छन्।

पुटिनले सम्बोधन गर्दै वागनर समूहले देशद्रोह गरेको र कारबाही गर्ने चेतावनी समेत दिएका छन्। उनले यो विद्रोह देशको सेनाको पिठ्यूँमा छुरा हानेको बताएका हुन्। त्यस्तै रूसी सेनालाई उक्त समूहविरूद्ध पनि युद्ध सुरू गर्न आवश्यक निर्देशन दिइसकेको उनले बताए। त्यससँगै सेन्ट पिटर्सबर्गमा रहेको वागनरको कार्यालयमा रूसी सेना र प्रहरीले छापा मारेको बिबिसीले जनाएको छ। को हुन् येवगेनी प्रिगोजिन?

उनी पुटिन जन्मिएको शहर सेन्ट पिटर्सबर्गका हुन्। चोरी मुद्दामा केही समय जेल समेत बसेका उनले सेन्ट पिटर्सबर्गमा ‘हट डग’ बेच्ने काम गर्थे। केही वर्षमै व्यापार राम्रो हुन थालेपछि उनले महंगा रेष्टुरेन्ट समेत खोलेका थिए। पछि उनको केटरिङ कम्पनीले राष्ट्रपति भवनमा खाना सप्लाई गर्न थालेको थियो। जसकारण प्रिगोजिनलाई पुटिनको सेफको नाम दिइएको बिबिसीले जनाएको छ।

वर्षौंसम्म यो समूह अस्तित्वमा रहेको रूस सरकारले स्वीकारेको थिएन। तर सन् २०२२ जुलाइ २७ मा पूर्वी युक्रेनमा रूसका लागि लडिरहेको क्रेमलिनले स्वीकार गरेको थियो। वागनर समूह पहिलो पटक सन् २०१४मा पहिचान भएको थियो। बेलायती डिफेन्स मन्त्रालयले यसले सन् २०२२मा ठूलो संख्यामा सैन्य भर्ना गर्न थालेको हो। यो समूहमा रहेका ८० प्रतिशत सैनिकहरू जेलमा रहिसकेका व्यक्तिहरू हुन्।

चर्चामा

सम्बन्धित समाचार