बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • मिस नेपाल-२०२३ : आफ्नो सपना पूरा गर्न प्रतिस्पर्धामा होमिएका सुन्दरी

मिस नेपाल-२०२३ : आफ्नो सपना पूरा गर्न प्रतिस्पर्धामा होमिएका सुन्दरी

  • शुक्रबार, बैशाख २२, २०८०
मिस नेपाल-२०२३ : आफ्नो सपना पूरा गर्न प्रतिस्पर्धामा होमिएका सुन्दरी

काठमाडौं– एकातिर पपुलर च्वाइसको प्रतिस्पर्धा जारी छ भने अर्कोतिर मिस नेपालका २४ प्रतिस्पर्धी अभ्यासमा व्यस्त छन् । फिनाले नजिकिंदै जाँदा प्रतियोगी सुन्दरीहरु जिम, डान्स, स्पीच र वाकजस्ता कोरियोग्राफी सिक्दैछन् । पपुलर च्वाइसका लागि भोट पनि माग्दैछन् । किनभने यो विधा जित्न सके फाइनलको ढोका खुल्नेछ ।

केही दिनअघि यी सेमिफाइनलिस्ट सुन्दरीले जस्मिन फिट्नेस क्लबमा आफ्नो तयारीसँगै अन्य विषयमा अनलाइनखबरसँग गफगाफ गरे । पाइलट, व्यवसायी, डाक्टरदेखि आमाको विरासतलाई निरन्तरता दिने सोचसहित प्रतिस्पर्धामा होमिएकी पहिलो मिस नेपाल रुबी राणाकी छोरी प्रसिद्धि समेत यसपटक ताज जित्ने होडमा छिन् ।

करिअरमा अब्बल भइसकेका सुन्दरीले मिस नेपाललाई आफ्नो आवाज संसारभर फैलाउने प्लेटफर्मको रुपमा लिएका छन् । क्राउन जित्न सके आफ्नो सपना र उद्देश्यलाई पूरा गर्ने सोच उनीहरुको छ । यस्तो लाग्छ, उनीहरुका लागि मिस नेपालको प्लेटफर्म नै सबथोक हुन् । बाँकी १२ प्रतिस्पर्धीले अनलाइनखबरसँग मिस नेपालमा भाग लिनुको उद्देश्यबारे सविस्तार सुनाएका छन् ।

यसपटक दुई ट्रेण्ड मिस नेपालमा देखिएको छ । पहिलो, यसपटकको संस्करण समावेशी देखिन्छ । काठमाडौंबाहिरको सुदूर भूगोलका सुन्दरी पनि प्रतिस्पर्धामा छन् । सधैं काठमाडौं नै हाबीजस्तो देखिने प्रवृत्ति यसपटक छैन । हुन पनि हिडन ट्रेजरले सातै प्रदेशमा अडिसन गर्दै प्रतिस्पर्धालाई समावेशी तुल्याउने प्रयास गरेको थियो । दोस्रो, अधिकांश सुन्दरी करिअरमा स्थापित भएर आएका छन्, जसले गर्दा प्रतिस्पर्धा को भन्दा को कम हुने देखिन्छ ।

सबै सुन्दरीले परिवारकै सपोर्टमा प्रतिस्पर्धामा आइपुगेको बताए । भन्नुको अर्थ, सौन्दर्य प्रतियोगितालाई बुझ्ने समाजको सोच उदार हुँदै गएको छ । मिस नेपाल हुन ब्युटी मात्र पूर्वसर्त रहेन । योसँगै सोच, क्षमता र नेतृत्वदायी कौशल पनि आधारभूत आवश्यकता बने । ताज नजिते पनि यसले जीवनमा अघि बढ्न व्यक्तित्व विकास हुने धारणा सुन्दरीले राखेका छन् ।

यसपटक ११ वटा सहविधामा प्रतिस्पर्धा हुनेछ । गत साता पोखरामा ट्यालेन्ट राउण्ड सकिएको छ । पपुलर च्वाइस जारी छ भने अन्य सहविधाका प्रतिस्पर्धा आयोजना हुँदैछन् । यसपटक पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थको उपाधि जित्नका लागि पनि प्रतिस्पर्धा केन्द्रित हुनेछ ।

हिडन ट्रेजरको आयोजनामा हुने यस वर्षको मिस नेपाल-२०२३ को ग्राण्ड फिनाले आगामी जेठ १३ गते ललितपुरस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार