• होमपेज
  • विचार/ब्लग
  • रारा तिमीलाई राष्ट्रले चिन्नै सकेन 

रारा तिमीलाई राष्ट्रले चिन्नै सकेन 

  • सोमवार, बैशाख ११, २०८०
रारा तिमीलाई राष्ट्रले चिन्नै सकेन 

यातायात तथा पर्यटन संसारको तीव्रतर गतिमा विकास भईरहेको उद्योग हो । हिजो आज मान्छेहरु घुम्ने, मनोरंजन र अध्ययन अनुसंधानका लागि घर बाहिर निस्कने चलन झन स्थापित हुंदै गएको छ । यति सम्मकी सहरीयाहरुको भान्छामा खाना कमै पाक्छ , ठिक वेठिक अलग पाटो हो । नेपालको सन्दर्भमा पर्यटन क्षेत्रको विकास मार्फत प्रशस्त समृद्धिका आधारहरु निर्धारण गर्न सकिन्छ र पर्यटन उद्योग विस्तारै फस्टाउँदै पनि गएको छ ।

यस उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १५ लाखभन्दा बढीले रोजगारी पाएको बताइएको छ । पर्यटन क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा प्रत्यक्ष रूपमा करिब ३ प्रतिशत योगदान पुर्‍याउँछ (यद्यपि अनौपचारिक तथ्याङ्कले यसलाई ११.० प्रतिशतको हाराहारीमा राख्छ)। सरकारले पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना–२०७९’ अन्तर्गत ट्राभल व्यवसायलाई पुन: प्राप्ति गर्ने लक्ष्य लिएको छ साथै सन् २०२३–३३ सम्म एक दशक लामो नेपाल भ्रमण अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यो महत्वाकांक्षी योजनाले थला परेको पर्यटन क्षेत्रलाई टेवा दिन खोजेको देखिन्छ यधपि गन्तव्यहरु र पूर्वाधार अस्तव्यस्त देखिन्छन् ।
केहि भुभाग जुम्लालाई समेटने मुगमा अवस्थित रारा १९८ वर्ग किमी रहेको छ भने ताल मात्रै १०.६५ वर्ग किमी रहेको छ । २९९० मिटर उचाईमा रहेको यो सुन्दर उपहारको लम्बाई ५ किमी र चौडाई ३ किमी र औषत गहिराई १६७ मिटर रहेको छ । त्यसैले रारा अदभुत छ र मनै लोभ्याउने विछट्टैको प्रिय छ । २०३२ मा रारा र छाप्री गाउलाई हटाई निकुञ्जको रुपमा स्थापना भएको रारा २०२० सालमा राजा महेन्द्रले विचरण गरे पछि महेन्द्र तालको रुपमा पनि चिनिन्छ ।
सरकारको यस अभियानलाई सहयोग गर्न सुप र कर्णाली प्रदेशको ठूलो योगदान हुने देखिन्छ यधपि काठमाण्डौंबाट यी दुई प्रदेशको दुरी निकै टाढा छ र गन्तव्यसम्म पुग्न पट्‌यार लाग्दो यात्रा कष्टकर छ । तर पनि गन्तव्यहरु पर्यटक माझ प्रिय बन्दै गएकाले पूर्वाधार विकास र गन्तव्यहरुको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन अपरिहार्य देखिन्छ । त्यसैले सुरक्षित हवाई मार्ग र व्यवस्थित मापदण्डका सडक मार्ग मार्फत दुरी घटाउने र स्तरीय सफा बास स्थानहरुको विकास र प्रबर्द्धन आवश्यक छ ।

यस पटक रारा घुम्ने रहर जाग्यो र प्रकृतिको सुन्दर उपहार राराको रस्वासदन लिने अवसर प्राप्त भयो । सुन्दर रारामा पर्यटकको चाप बढेसंगै स्वभावैले यसको सुन्दरतामा झन निखार ल्याउनु पर्ने देखिन्छ । यसका लागि छोटो बसाईमा महसुश गरिएका निम्न पक्षहरुमा सुधार तथा निखार ल्याउनु पर्ने हुन्छ ।
१. राराको पानी पश्चिमक्षेत्र भई खत्याड खोलाको रुपमा बग्ने गर्दछ । रारा क्षेत्रकोको भूगोल कमजोर भएकाले सडक विस्तार र सेरी क्षेत्रको भुगोल उत्खनन हुनु हुदैन ।
२. राराको पश्चिममा मुर्मा गाउ रहेको छ त्यसैले उक्त क्षेत्रका बासिन्दाले खेतीपाती प्रणाली, दाउरा घास र चौपयाको चरीचरणले पर्यावरणमा पुर्‍याउने क्षतिका विषयमा अध्ययन गरी सो अनुरुप काम भएको हुनुपर्ने देखिन्छ ।
३. राराको पूर्व उत्तर भागमा सदरमुकाम गमगढी, ताल्चा विमान स्थल र सडक संजाल विस्तार भई रहेको देखिन्छ । त्यसैले उक्त क्षेत्रमा जथाभावि जंगल विनास, सडक विस्तार अति आवश्यक बाहेक IEE र EIA अध्ययन विना कुनै हालतमा बनाउनु हुदैन ।
४. श्रोतका अनुसार रारामा बर्षेनी ३० हजार चौपायाको खुला चरीचरण हुन्छ । चौपायाको मल मूत्र विर्सजनले ताल दुर्गन्धित हुनुका साथै अस्वभाविक झारपात मौलाएको र कोमल माटो चौपायाका खुरहरुले काटिन गई ससाना भुस्खलन भएको देखिन्छ । यस विषयमा सोच्नु पर्ने देखिन्छ ।
५. आर्मीबाट ताल नजिक जाने सडक बाटो बन्द गर्नु पर्छ, धुलो र मैदानी क्षेत्रमा जथाभावि गाडीको कुदाईले धुलाम्य देखिन्छ । र यही बाटो वगेर विस्तारै खोल्सा गहिरिदै गएर भुस्खलन र पहिरोको जोखिम बढन सक्छ । यसतर्फ ध्यान जान आवश्यक छ ।
६. पदमार्ग, घोडेटो बाटोहरु अव्यवस्थित छन् । मान्छे हिड्न र घोडचडी सवार असहज देखिन्छ त्यसैले सुधार गर्नु पर्ने देखिन्छ ।
७. ताल वरीपरी विचरण गर्न सवारी साधन / माउन्टेन बाईकहरुको प्रयोग निषेध हुनु पर्छ ।
८. रारामा ५१ प्रकारका स्तनधारी, २७२ चराचुरङ्गी, ७ प्रकारका माछा र २५ प्रजातिका फुल फुल्छन । मानविय त्रुटी र खुल्ला चरीररणले नोम्कसान हुनुहुँदैन । साथै अमुल्य जडीबुटी र जंगली जनावरको बासस्थानमा हाम्रा कारणले क्षति पुग्नु भएन नत्र के को रारा !
९. तालको उत्तर तथा दक्षिण तर्फबाट बग्ने खहरे खोलाबाट ताल संकुचनमा पर्दै गएको छ । यसतर्फ उपयुक्त कदम चाल्नु पर्ने देखिन्छ ।
१०. निकुञ्ज भित्रै अस्थायी रूपमा बसेका पहिरोबाट प्रभावित ११४ घरधुरीलाई समयमै उपयुक्त स्थानमा स्थापित गराई निकुञ्जको सुन्दरता कायम गराईरहनु पर्छ ।
११. होटल र होटल परिसर पूर्ण सरसफाई युक्त र स्थानीय बास्तुकलाले सुसज्जित हुनुपर्छ । पर्यटक आए एकै पटक असुल गरौं भन्ने मानसिकता त्याग्नु पर्छ । मान्छे बढी भए बढी रेट कम भए कम दररेट अर्थशास्त्रको नियम विपरित भएको पाईयो । कालो कफीको रु. १०० एकका लागि ठिक होला तर सबैका लागि पनि सोच्नु पर्ने हुन्छ । पैसा खर्च गर्ने मात्र रारा आउछन भन्ने सोचबाट मुक्त हुनु जरुरी देखियो ।
१२. रारा आसपासमा करीब ५०० घोडा रहेको स्थानीय बताउछन, साथै रैथाने उत्पादन र वन जंगलको उत्पादनको बजारीकरणबाट समेत स्थानीय र देशलाई फाईदा भईरहेको छ , त्यसैले यी चीज वस्तुको संरक्षण र प्रबर्द्धन तर्फ ध्यान जान जरुरी छ । आदि …
सुप राराबाट कसरी लाभान्वित हुन सक्छ त ?
सुदुर पश्चिम महेन्द ताल अर्थात राराबाट प्रत्यक्ष लाभ लिन सक्ने देखिन्छ । बाजुराको हिमाली गापाको धुलाचौरबाट करीब ८ घंटाको पैदैल यात्रामा रारा पुग्न सकिन्छ । अहिले कर्णाली नदिमा पुल बनी सकेको हुनाले मुगको खत्याड गापा वडा नं ८ झुगालाबाट वडा नं.२ सेरी सम्म ३७ किमी सडक संचालनमा छ । गाडीको यात्राबाट झन नजिक छ रारा केवल ४-५ घंटा ! अछामको साँफेबगर हुंदै गाडी तथा पैदल मार्गबाट रारा पुग्न करीव १२-१३ घंटा भए पुग्छ र यो रूट अत्यन्तै सुरक्षित पनि छ भन्ने महसुस भयो । अछामको साफेबगर र कोल्टीमा हवाई मार्गबाट पनि यात्रा सुरक्षित गर्न सकिन्छ ।

हामीले खप्तड, वैधनाथधाम, रामारोशन, बडीमालिका, बुडीनन्दा, सैन र रारालाई जोडेर आवश्यक पूर्वाधार विकास र गन्तव्यहरुको संरक्षण र प्रबर्द्धन गर्ने हो भने आर्थिक समृद्धि हांसिल गर्न सहयोग पुग्ने देखिन्छ । पर्यटकीय गन्तव्यहरु र गन्तव्यहरुको मध्य भागमा अवस्थित भएका कारण धार्मिक तथा प्राकृतिक पर्यटनबाट सबै भन्दाबढी बाजुरा जिल्लाले लाभ लिन सक्ने संभावना देखिन्छ, त्यसैले यस विषयमा बाजुराले गहन रुपमा सोच्न जरूरी छ । साथै बाजुरा जडीबुटी , रैथाने बाली र स्याउको भरपुर संभावना भएको जिल्ला पनि हो ।
अन्तमा रारा प्राकृतिक छटाले भरीपूर्ण र अद्वितिय छ, यसको संरक्षण, सम्बर्द्धन , प्रवर्द्धन र प्रचार प्रसारका साथै पूर्वाधार विकासमा योजनाबद्ध रुपमा ध्यान दिन जरूरी छ । बर्षनी ३००- ४०० विदेशी पर्यटकको आगमन हुने रारा देशको प्रमुख गन्तव्य बन्दैछ, त्यसैले रारा सबैको रोजाई बनी सकेको छ, किंचित ओझेल पर्नु र पारिनु हुदैन, देशले रारालाई चिन्न जरूरी छ र रारा लगायतका गन्तव्यहरुले प्रतिफल दिनेनै छन्
यी मेरा नितान्त व्यक्तितत विचार हुन !

चर्चामा

सम्बन्धित समाचार