टेक बहादुर बुढा, बाजुरा – सुदूरपश्चिम प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले बुढीगंगा नगरपालिका–७ मा रहेको शारदा माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका छन् । मन्त्री देउवाद्धारा उक्त विद्यालयकाे १२ काेठे भवनकाे उद्घाटन गरिएकाे बुढीगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानिँयाले बताएका छन ।
बुढीगंगा नगरपालिका र वडा न ७ को आर्थिक सहयोगमा निमार्ण भएको दुई तले नवनिर्मित भवनकाे प्रदेश मन्त्री देउवाले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । उक्त विद्यालयकाे भवन बुढीगंगा नगरपालिका र वडा कार्यालयकाे करिव ६० लाख लागतमा निर्माण गरिएको हो ।
विद्यालयको भवन अभावका कारण विद्यार्थीहरु खुला चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटाउने गरी वडाबाट र नगरपालिकाको सहयोगमा भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप केसीले बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलीप केसीको अध्यक्षतामा संचालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा रहेका थिए । त्यस्तै विशष्ट अतिथीमा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनिया,उप प्रमुख माया खड्का(कुँवर) वडाध्यक्ष भुवनसिंह केसी लगायत ९ वटै वडाका वडा अध्यक्षहरु रहेका थिए ।