• होमपेज
  • राजनीति
  • चुनावमा अन्तर्घात गर्ने जसपाका ८० जना कारबाहीमा

चुनावमा अन्तर्घात गर्ने जसपाका ८० जना कारबाहीमा

  • शनिबार, फाल्गुन २०, २०७९
चुनावमा अन्तर्घात गर्ने जसपाका ८० जना कारबाहीमा

काठमाडौँ –   जनता समाजवादी पार्टी, नेपालले गठन गरेको छानबिन समितिले ८० जना नेतालाई कारबाही गर्न सिफारिश गरेको छ।

गत मंसीर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात भएको भन्दै उजुरी परेपछि जसपाले शिवलाल थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले शनिबार बालकुमारीमा एक कार्यक्रम आयोजना गरी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको छ।

छानबिनका क्रममा अन्तर्घातको आरोप लागेका १५२ जना नेता तथा कार्यकर्तासँग बयान लिएको थियो। जसमा केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ जना नेता थिए। उनीहरूमध्ये ८० जनालाई कारबाही गर्न सिफारिश गरिएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली पुगेर छानबिन गरेको थियो। यी जिल्लाका साथै गैरभौगोलिक विशेष प्रदेश समितिका सदस्यलाई पनि कारबाही गर्न सिफारिश गरिएको बस्नेतले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार