शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने

नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने

  • सोमवार, फाल्गुन १५, २०७९
नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने

काठमाडौं   –    कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो।

माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर ल्याइएको उक्त निर्देशिका कक्षा नौका विद्यार्थीमा लागू हुन्छ कि हुँदैन भन्ने दुविधा विद्यालयमा थियो।

नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरूमा क्रमशः निर्देशिका लागू गर्दै जाने योजनाअनुसार यस वर्ष कक्षा नौबाट लागू गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार आगामी चैत महिनामा सञ्चालन हुने कक्षा नौको वार्षिक परीक्षामा २०७८ सालमा स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका नै लागू हुनेछ। कक्षा नौमा यसै वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

नयाँ पद्धतिअनुसार ३५ प्रतिशतभन्दा कम नतिजा प्राप्त गर्ने विद्यार्थीको मूल्याङ्कन ननग्रेडेड अर्थात् अनुत्तीर्ण हुनेछ। बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले वार्षिक परीक्षामा अनुत्तीर्ण भए पनि त्यस्ता विद्यार्थीलाई अधिकतम तीन पटकसम्म मौका परीक्षामा सहभागी हुने अवसर दिइने बताए ।

वार्षिक परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाका लागि स्कुलले तत्काल मौका परीक्षा सञ्चालन गर्नुपर्नेछ। पहिलो पटकको मौका परीक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परीक्षामा आंशिक परीक्षार्थीका रूपमा सहभागी हुनुपर्नेछ। दोस्रो पटकको यो परीक्षामा उनीहरूले दुई विषयको मात्रै परीक्षा दिए पुग्छ।

यो परीक्षामा पनि अनुत्तीर्ण भएमा विद्यार्थीले तेस्रो पटकको मौका परीक्षामा सहभागी हुन पाउनेछन्। उक्त परीक्षामा उत्तीर्ण हुन सकेनन् भने त्यस्ता विद्यार्थीले कक्षा नौबाट फेरि नियमिततर्फका विद्यार्थी सरह पढ्नुपर्नेछ। एसईईमा सहभागी हुन विद्यार्थीले कक्षा नौको ग्रेडसिट अनिवार्य रूपमा पेस गर्नुपर्ने हुन्छ।

चर्चामा

सम्बन्धित समाचार