शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ३
  • लुम्बिनी प्रदेशकी माओवादी मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

लुम्बिनी प्रदेशकी माओवादी मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

  • शनिबार, माघ २८, २०७९
लुम्बिनी प्रदेशकी माओवादी मन्त्री कृष्णा केसीले दिइन् राजीनामा

दाङ — लुम्बिनी प्रदेशकी बिनाविभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छिन् । मन्त्री नियुक्त भएको लामो समयसम्म पनि उनी जिम्मेवारविहीन थिइन् । शनिबार मन्त्री केसीले मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएको बताएकी छिन् । तर सरकारका प्रवक्ता एवं मन्त्री चेतनारायण आचार्यले आधिकारिक रूपमा राजीनामा नआएको दाबी गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी दिने बेलामा दलमा छलफल नभएकोमा असन्तुष्टि जनाउँदै केसीले राजीनामा दिएकी हुन् । सत्तारुढ दलमा भएको सहमतिअनुसार लुम्बिनीमा माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला, कानुन तथा सञ्चार र भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । केसीले भौतिक पूर्वाधारमा दाबी गर्दै आएकी थिइन् । माओवादी केन्द्र, लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले मन्त्री केसीले राजीनामा दिएकोबारे आफूलाई पनि पत्र पठाएको बताए । केसी बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् ।

संसदीय दलको बैठकमा छलफल नभएकोमा केसीको गुनासो भएको पनि अध्यक्ष बरालले बताए । उनले भने, ‘उहाँले मुख्यमन्त्रीलाई राजीनामा बुझाएँ भन्नु भएको छ । कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने कुरा संसदीय दलको बैठकले टुंगो लगाउने भनिएको थियो । संसदीय दलको बैठक बस्न सकेको छैन । उहाँको राजीनामा आएपछि अब के गर्ने भन्नेबारे पार्टीमा छलफल भइरहेको छ ।’

लुम्बिनीमा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी छ । माओवादीबाट आर्थिक मामिला मन्त्रालयमा संसदीय दलका नेता जोखबहादुर महरा जाने सम्भावना छ । कृष्णा केसीको मन्त्रालय र अर्को मन्त्रीकै टुंगो लाग्न बाँकी छ ।

भौतिक पूर्वाधार विकास र आन्तरिक मामिलामध्ये एकमा केसीको निश्चित भए पनि अर्को कसलाई पठाउने भन्ने माओवादीमा विवाद छ । रोल्पाका दीपेन्द्र पुन, दाङका इन्द्रजित थारु र धनबहादुर मास्की मन्त्री बन्ने प्रतिस्पर्धामा छन् । थारु पूर्वमन्त्री पनि भएकाले पार्टीको प्राथमिकतामा पुन छन् ।

चर्चामा

सम्बन्धित समाचार