बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बुङ्गल नगरपालिका एक महिनादेखि प्रशासकीय अधिकृत विहीन

बुङ्गल नगरपालिका एक महिनादेखि प्रशासकीय अधिकृत विहीन

  • बुधबार, माघ २५, २०७९
बुङ्गल नगरपालिका एक महिनादेखि प्रशासकीय अधिकृत विहीन

अर्थ जङ्ग शाही/ बझाङ — बझाङको बुङगल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । एक महिना भन्दा बढी समय देखि नगरपालिका अधिकृत विहीन बन्दा योजना सम्झौता, निमार्ण सम्पन्न भएका योजनाको अन्तिम भुक्तानी तथा कर्मचारीको तलब लगायतका नगरपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । बुङगल नगरपालिकामा उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत रहने भए पनि कर्मचारी अभावका कारण नगरपालिकामा निमित्तको भरमा कार्य सञ्चालन गर्नुपरेको छ ।

दरबन्दी अनुसार कर्मचारीको अभाव र भएका कर्मचारीलाई पनि जनप्रतिनिधिले कानुन मिचेरै काम गर्न दबाब दिने गरेका कारण बुङगल नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बस्न मान्दैनन् । प्रमुख प्रशासकीय अधिकृत निमित्त मात्रै हुँदा स्थानीय तहको दैनिक काम प्रभावित हुनुका साथै महत्त्वपूर्ण निर्णय समयमा हुन नसकेको जनप्रतिनिधिहरू बताउँछन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेको नगरपालिकामा अहिले सेवा प्रवाह नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

यस अघि पनि बेला बेला प्रमुख प्रशासकीय अधिकृत माग गर्दा मन्त्रालयबाट नपठाउने र पठाए पनि नगरपालिकाले जिम्मेवारी विहीन गर्ने गरेका कारण सरुवा मागेर अन्तै जाने गरेको स्थानीयको भनाई छ । बुङगल नगरपालिकामा एक महिना अघि सम्म देवराज जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका थिए । तर नगर प्रमुख जय बहादुर धामी र नेपाली काँग्रेस बाट निर्वाचित जनप्रतिनिधिले राजनैतिक प्रतिशोधका कारण निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दै आएका जोशीलाई जबरजस्ती राजीनामा गर्न लगाएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन बन्न पुगेको हो ।

नेपाली काँग्रेसका जनप्रतिनिधिहरूले आफ्ना कार्यकर्तालाई प्रक्रिया नपुर्‍याई भुक्तानी गर्न लगाएको र जोशीले नमाने पछि जवरजस्तीरुपमा राजीनामा गर्न लगाएको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए । नगर प्रमुख धामीले नेपाली काँग्रेस बुङगलका नेताहरूको निर्देशनमा आफ्ना कार्यकर्ता लाई बजेट दिने र भुक्तानीका आफू अनुकूल नभए कर्मचारीलाई धम्क्याउने गरेको ती कर्मचारीले बताए ।

हामी कर्मचारी भइसकेपछि जागिरको सवाल हुन्छ । कागजपत्र मिलाउनै पर्छ नत्र हामीलाई आलेप मलेपले समात्छ तर नगर प्रमुख धामी र दुई जना वडाध्यक्षहरू व्यक्तिगत चेक काटे झैँ भुक्तानीका लागी दबाब दिने गर्छन् । निमित्त प्रमुख प्रसाकिय अधिकृत जोशीले नीतिगतरुपमा चल्न खोज्ने र जनप्रतिनिधिले जोशीलाई आफू अनुकूल हुने गरी चलाउन खोज्दा नमाने पछि उनलाई धम्क्याएर राजीनामा गर्न लगाएको उनको भनाई छ । यस विषयमा जोशी सँग बुझ्दा जबरजस्ती नभई आफूलाई काम गर्ने वातावरण नभएका कारण आफूले राजीनामा दिएको बताएका छन् । नगरप्रमुख धामीले बुङगल नगरपालिकामा भएका करारका कर्मचारीहरूलाई पनि आफू अनुकूल काम गर्न दबाब दिने गरेको पाइएको छ ।

आफू अनुकूल भुक्तानी दिन नमानेपछि कार्यपालिकाले निर्णय गरेर निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीलाई हटाएर धुव्रराज जोशीलाई निमित्त दिने निर्णय गरेको थियो । धुव्रराज जोशी र देवराज जोशी एकै तहका कर्मचारी हुन । नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउने कार्यपालिकाको निर्णय बोकेर नगरप्रमुख धामी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका थिए ।

तर मन्त्रालयले कर्मचारी अभावका कारण अहिले नयाँ अधिकृत खटाउन सक्ने अवस्था नरहेको र एउटै तहका कर्मचारी मध्ये एउटालाई हटाएर अर्कालाई निमित्त दिन नसकिने र हटाउनु पर्ने कारण नभएकाले काम गरिरहेकै देवराज जोशीलाई निमित्त भएर काम गर्नु भनेपछि धामी रित्तै हात फर्केका थिए ।

नगरप्रमुख धामी नेपाली काँग्रेस बुङगल नगरपालिकाको कठपुतली भएको आरोप लाग्न थालेको छ । उनी आफै केही गर्न नसक्ने र पार्टीकै दबाब र निर्देशनमा काम गर्ने गरेको कतिपयको भनाई छ । नगरप्रमुख धामी नामको मात्र मेयर भएको र नगरपालिकामा काँग्रेसकै अरू वडाध्यक्षहरूको हाबी हुने गरेको अन्य दलहरूले आरोप लगाएका छन् ।

अहिलेका निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीलाई उप प्रमुख धन बहादुर बोहराको नजिक भएको र आफुअनुकुल काम नगरेका कारण मेयरले हटाउन खोजेको समाजवादी निकट स्रोतको भनाई ।

चर्चामा

सम्बन्धित समाचार