• होमपेज
  • समाज
  • हनीट्र्यापमा परेका युवक १० दिनपछि अपहरणमुक्त

हनीट्र्यापमा परेका युवक १० दिनपछि अपहरणमुक्त

  • बुधबार, माघ १८, २०७९
हनीट्र्यापमा परेका युवक १० दिनपछि अपहरणमुक्त
अपहरणमुक्त झापा बिर्तामोड–३ निवासी राजीव बस्नेत।

बिर्तामोड नगरपालिका–३ निवासी २१ वर्षीय राजीव बस्नेतको अपहरण घटनामा संलग्न एक महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ।

घटनामा संलग्न ९ जनामध्ये दुई महिला र ६ पुरुष गरी ८ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा बिर्तामोडकी प्रतीक्षा योङहाङ रहेका छन्। हनीट्र्यापका योजनाकार योङहाङलाई प्रहरीले माघ १२ गते घरबाटै पक्राउ गरेको हो।

माघ ५ गते अपहरणमा परेका बस्नेत १० दिनपछि माघ १४ गते शनिबार साँझ अपहरणमुक्त भएको एसपी रेग्मीले बताए। आर्थिक लेनदेनको विवादपछि बस्नेतलाई आतंकवादी संगठन उल्फा अर्गनाइजेशनको सहयोगमा हनीट्र्याप गरी अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले जानकारी दिए।

अपहरणको मुख्य योजनाकार झापा बुद्धशान्ति गाउँपालिका घर भइ हाल भारतको मणिपुरमा बसेर व्यापार गर्ने राजु भनिने राजकुमार भण्डारी हुन्। योजनाकार भण्डारीले युवतीको प्रयोग गरी बस्नेतलाई प्रेम जालमा फसाएर अपहरण गरेका थिए। ९ जना अपहरणकारीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता भइसकेको र पक्राउ परेकी महिला योङहाङलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

यस्तो छ घटना

बिर्तामोड–३ भगवान् चोक निवासी कमल बस्नेतका २१ वर्षीय छोरा राजीव माघ ५ गते बिहान साथीहरूसँग इलामको श्रीअन्तु घुम्न जान्छु भनी घरबाट निस्किएका थिए। प्रदेश १–०१–०१५ प ८०९७ स्कुटर चढेर घरबाट निस्किएको दुई घण्टापछि नै उनले बोकेको मोबाइल बन्द भयो।

उनले हरियो ज्याकेट र ब्याग बोकेका थिए। सम्पर्कविहीन राजीव साँझसम्म पनि घर नफर्किएपछि परिवारजनले तत्काल प्रहरीलाई हुलियासहित उजुरी दिए। त्यसपछि प्रहरीले राजीवको खोजतलास सुरु गरे। सीसीटीभी फुटेज र मोबाइल ट्र्याकिङको आधारमा राजीव जिल्ला आसपासकै कुनै सुरक्षित ठाउँमा राखेको भनी प्रहरीले पत्ता लगायो। राजीवले बोकेको मोबाइल स्विच अफ हुँदा प्रहरीले सम्बन्धित ठाउँको पहिचान गर्न सकेन। राजीवलाई अपहरण गरेपछि अपहरणकारीले उनका बुबा कमललाई छोराको भिडियो पठाएर ४० करोड फिरौती रकम माग्छन्।

कमलले सो कुरा तत्काल प्रहरीलाई जानकारी गराए । त्यसपछि प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै अपहरणकारीको खोजीमा लाग्यो । मुख्य योजनाकार भारतको मणिपुरमा रहेको पत्ता लगाएपछि मणिपुर प्रहरीसँग समन्वय गरेको थिए। सोही क्रममा मुख्य योजनाकार भण्डारी आफू पक्राउ पर्ने डरले राजीवलाई बिनासर्त माघ १४ गते बेलुका बुट्टाबारीस्थित जंगल छेउमा लगेर छाडिदिएको एसपी रेग्मीले बताए।

प्रहरीका अनुसार मुख्य योजनाकार भण्डारी र राजीवका बुवाबीच आर्थिक लेनदेन रहेकोले सो रकम असुल्न अपहरणको योजना बनेको हो । भण्डारी र बस्नेत पहिले मणिपुरमा सँगै व्यापार गर्थे। तर, पछिल्लो समय आर्थिक लेनदेनमा विवाद भएपछि यी दुईबीच मनमुटाव सुरु भएको थियो। उनीहरू सुन व्यापारमा संलग्न रहेको प्रहरीले जनाएको छ। बस्नेत र भण्डारीबीचको लेनदेन विवाद ८–१० वर्ष अगाडिकै हो। बस्नेतसँग रकम पाउने भन्दै भण्डारीले विप्लव माओवादी पनि लगाएका थिए। बस्नेतले भण्डारीलाई १ करोड भारु बुझाएका थिए। तर, भण्डारीले अझै २० करोड भारु पाउने दाबी गर्दै आएका छन्।

बस्नेतबाट सोही रकम उठाउन ६ महिनाअघि भण्डारी आफैं बिर्तामोड आएका थिए। बिर्तामोडको एउटा होटेलमा ४–५ दिन बसेर उनले अपहरणको योजना बनाएको खुलेको छ। भण्डारीले बिर्तामोडकी प्रतीक्षाको सल्लाहमा यस्तो योजना बनाएको अनुसन्धानबाट खुलेको छ। प्रतीक्षाको घरमा अध्ययनका लागि बसेका फुपूकी छोरीहरू दीपिका लिम्बू र कौशिका लिम्बूलाई योजनाको सम्पूर्ण कुरा जानकारी गराएर उनीहरूले योजना सफल भएमा जनही २५÷२५ लाख रुपैयाँ दिएर विदेश पठाइदिने आशा देखाउँछन्। विगत ६ महिनादेखि योजना बनाएर उनीहरूले बस्नेत परिवारलाई निगरानीमा राखिरहेका थिए। कक्षा १२ मा अध्ययनरत राजीवलाई अपहरण गर्न दीपिका र कौशिका उनको नजिक भएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् चिनजान गरेर उनीहरूले राजीवलाई हनीट्र्यापमा पारे । त्यसपछि राजीवले उनीहरूसँग बोलीचाली र घुलमिल बढाउन थाले । सोही क्रममा माघ ४ गते उनीहरू सालवारीमा घुम्न गए त्यसको भोलिपल्ट अर्थात् माघ ५ गते एकरात सँगै श्रीअन्तुमा बस्ने योजना बन्यो ।

सोही योजनाअनुसार राजीव घरबाट श्रीअन्तु जाने भन्दै निस्किएका थिए। उनी घरबाट निस्किएलगत्तै युवतीलाई प्रयोग गरी अपहरण घटनामा संलग्नहरूले उनलाई बोलेरो गाडीमा राखेर १० मिनेट घुमाएर एकान्त ठाउँमा लगेर राख्छन्। त्यसपछि मणिपुर र नेपाली भाषामा फिरौती रकम माग्न सुरु गर्छन्।

राजीवलाई नछोडे आफूहरू नबाँच्ने सुइँको अपहरणकारीहरूले पाएपछि देउनियाँ पुलमा छोडेर भागेको बताउँदै एसपी रेग्मीले भने, ‘घटनामा ठूलो मिस्ट्री छ, हनीट्र्याप, आर्थिक लेनदेनदेखि अपहरणसम्म। प्रहरीले समयमै ठिक ठाउँमा एक्सन लिँदा राजीवलाई सकुशल उद्धार गर्न सक्यौं, यो ठूलो उपलब्धि हो,’ उनले भने। अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार