बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा साढे दुई लाख लिटर दुध उत्पादन

सुदूरपश्चिममा साढे दुई लाख लिटर दुध उत्पादन

  • मङ्लबार, माघ १७, २०७९
सुदूरपश्चिममा साढे दुई लाख लिटर दुध उत्पादन

धनगढी –   दुई दशक अघिका किसान गाईभैंसी पालेर उत्पादन भएको दूधबाट घिउ र खुवा बनाउँथे। यी उत्पादनले बजार नपाउँदा व्यावसायिक पशु पालनमा उनीहरूले उन्नति गर्न सकेका थिएनन्। तर पछिल्लो समयमा किसानको उन्नतिको कथा लोभलाग्दो छ।

सुदूरका ग्रामीण क्षेत्रका किसान पशुपालनमा आफ्नो भविष्य खोजिरहेका छन्। यो पेसामा युवा किसानको संलग्नता बढ्दो छ। कृषि र दुग्ध उत्पादक सहकारी संस्था नै सञ्चालनमा ल्याएर कतिपय किसान व्यावसायिक दुध उत्पादनमा लागेका छन्। दुध बिक्रीबाट किसानले छोराछोरी बोर्डिङमा पढाएका छन्। घरजग्गा खरिद गरेका छन्। दुध र दुधजन्य पदार्थको बिक्रीबाट कतिपय किसानको कायापलट नै भएको छ।

गाउँमा दुध उत्पादन बढेको छ। तर बजारका उपभोक्ता भने पैसा तिरेर पनि आफूलाई चाहिए जति दुध खरिद गर्न पाउँदैनन्। सुदूरपश्चिम प्रदेशभित्र झण्डै साढे दुई लाख लिटर दुध उत्पादन हुने गरेको पाइएको छ। राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा बढी कैलाली र सबैभन्दा कम बझाङ जिल्लामा दुध उत्पादन हुने गरेको छ।

दुधको उत्पादनमा कैलाली जिल्लाको हिस्सा ३६ दशमलव ३३ प्रतिशत र बझाङ जिल्लाको हिस्सा १ दशमलव शून्य ८ प्रतिशत देखिएको छ। कैलालीमा वार्षिक ८७ हजार पाँच सय २० लिटर, कञ्चनपुरमा ७० हजार ७ सय ६० लिटर, अछाममा ११ हजार एक सय ३१ लिटर तथा डोटीमा १७ हजार ९ सय ९४ लिटर दुध उत्पादन हुने गरेको अध्ययनले देखाएको हो।

बाजुरामा १० हजार ७०१, बझाङमा दुई हजार पाँच सय ९०, डडेल्धुरामा ६ हजार एक सय ५३, बैतडीमा १७ हजार ६ सय २६ तथा दार्चुलामा १६ हजार चार सय तीन लिटर दुध उत्पादन हुने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। प्रदेशभित्र अघिल्लो आर्थिक वर्षमा कुल दुई लाख ४० हजार ८ सय ७८ लिटर दुध उत्पादन भएको थियो।

महाकाली पारीको नेपाल अर्थात कञ्चनपुरको दोधारा–चाँदनीबाट संकलित दुध भारतको टनकपुरमा खपत हुने गरेको छ। दोधाराबाट मात्रै दैनिक २ हजार लिटर दुध टनकपुरमा खपत हुने गरेको छ। भारतसँग सीमा जोडिएका किसानले भारतमै दुध खपत गर्दै आएका छन्। उत्पादित दुध सदरमुकाम महेन्द्रनगर तथा अत्तरियाभन्दा टनकपुर नजिक भएकाले उतै दुध विक्री गर्ने गरेको दोधारका किसान उत्तम कडायत बताउँछन्।

दुध संकलन र प्रशोधन गरेर आन्तरिक आपूर्ति सहज बनाउने लक्ष्यसहित कैलालीको अत्तरियामा स्थापना गरिएको धनगढी दुग्ध वितरण केन्द्रले दुरदराजका किसानको दुध संकलन गर्न सकेको छैन। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) अन्तरगतको केन्द्रले नजिकका स्थानबाहेक केन्द्रले दुध संकलनमा चासो नदिएको गुनासो छ।

चर्चामा

सम्बन्धित समाचार