• होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

  • शुक्रबार, पुस २९, २०७९
सुदूरपश्चिमको शासकीय सुधार योजना कार्यदल गठन गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

धनगढी —  सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै नयाँ मुख्यमन्त्रीले पद बहाली गरेका छन्। बिहीवार नवनियुक्त मुख्यमन्त्री रावलले पद बहाली गरेका हुन्। पद बहाली लगत्तै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री रावलले जनताको सेवक भएर काम गर्न प्रतिवद्ध रहेको बताएका छन्।

सुदूरपश्चिमको भूमि वीर वीरङ्गना र साहित्यिक रत्नहरूको भूमि रहेको स्मरण गर्दै मुख्यमन्त्री रावलले साके १२३५ मा गुणाकर जोशीले संस्कृत कविताको रचना गरेर काव्य र साहित्यमा सुदूरपश्चिम क्षेत्रको योगदान रहेको बताएका छन्।
यस्तै, मुख्यमन्त्री रावलले सुदूरपश्चिम काव्यात्मक गणितको भूमि रहेको स्मरण गर्दै जनताको सेवक भएर काम गर्ने अठोट व्यक्त गरेका छन्।

‘हामी त्याग, समर्पण र सेवाको भाव अङ्गिकार गरेर जनताको माझमा रहने छौँ,’ उनले भने, ‘सुशासन र सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्न सबै पक्षबाट हामीलाई सहयोग रहने विश्वास गरेका छौँ।’

सुदूरपश्चिम प्रदेश सरकार मातहतका सबै मन्त्रालय, आयोग,सचिवालय, निकाय र मातहत कार्यालयहरूको कार्यसम्पादन प्रणालीलाई सरलीकरण सुदृढीकरण गर्ने सम्बन्धमा नतिजा मुलक कार्ययोजना तयार गरि सात दिनभित्र पेस गर्न प्रमुख सचिवको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको समग्र शासकीय सुधार योजना तर्जुमा कार्यदल गठन गर्न मुख्यमन्त्री रावलले निर्देशन दिएका छन्।

स्थानीय तहको सेवा सञ्चालन गर्न कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिँदै सुशासन प्रवर्द्धन गर्न मुख्यमन्त्री कार्यालयका कानून सचिवको नेतृत्वमा एक कार्यदल गठन गरेर ३० दिनभित्र प्रतिवेदन पेस गर्ने निर्णय भएको मुख्यमन्त्रीले बताएका छन्।

मुख्यमन्त्री रावलले पदभार ग्रहण गर्दै विद्युतलगायतका महसुलमा सुविधा दिन अध्ययन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार