शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • अस्ताए विश्व फुटबलका ‘किङ्ग’ पेले

अस्ताए विश्व फुटबलका ‘किङ्ग’ पेले

  • शुक्रबार, पुस १५, २०७९
अस्ताए विश्व फुटबलका ‘किङ्ग’ पेले

साओ पाउलो : ब्राजिलियन महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति मृत्यु भएको छ। लामोसमयदेखि क्यान्सरसँग जुधिरहेका पेलेलाई गत नोभेम्बरमा अस्तालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो।

विश्व फुटबलका सर्वकालिन महान् खेलाडी पेलेले २१ वर्षको करिअरमा १,३६३ खेल खेलेका थिए। उनले करिअरमा कीर्तिमानी १,२८१ गोलसमेत गरेका थिए। ब्राजिलबाट पेलेले ९२ खेलमा ७७ गोल गरेका थिए।

फिफा विश्वकप तीन पटक जित्ने पेले एक मात्र खेलाडी हुन्। उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले विश्वकप जित्दा टिमका प्रमुख सदस्य थिए। सन् २००० मा पेलेलाई फिफाले शताब्दीकै उत्कृष्ट फुटबलर घोषित गरेको थियो।

पेले पछिल्लो समय मृगौला र प्रोस्टेटको समस्याबाट ग्रसित थिए। गत वर्षको सेप्टेम्बरमा पेटको ट्युमर फाल्न पेलेको शल्यक्रिया गरिएको थियो।

उनकी छोरी केली नाससिमेन्टोले पेलेको स्वास्थ्य अवस्थाबारे नियमित समर्थकलाई जानकारी दिइरहेकी थिइन्। बिहीबार राति केलीले सबै परिवारको हात एकै ठाउँ भएको तस्वीर सार्वजनिक गर्दै ‘हामी असीम माया गर्छौं, रेस्ट इन् पिस’लेखेकी छन्।

अस्पतालले पनि शरिरका धेरै अंकहरुले काम गर्न छाडेपछि मृत्यु भएको बताएको छ। जसको कारण पेटको क्यान्सर उल्लेख छ।

पेलेको सामाजिक सञ्जालमा लेखिएको छ, ‘प्रेरणा र प्रेमले भरिएको किङ्ग पेलेको यात्रा, जसको आज निधन भयो, लभ, लभ एन्ड लभ, फरेभर।’ ब्राजिलियन फुटबल संघले लेखेको छ, ‘पेले सर्वकालिन महान् खेल प्रतिभाभन्दा पनि धेरै थिए।’

‘हाम्रो फुटबलका राजा र विजयी ब्राजिलका आधार स्तम्भ पेले, जसले आफ्ना बुबालाई विश्वकप जित्ने प्रण गरेर हामीलाई तीन वटा विश्वकप दिए’ फुटबल संघले लेखेको छ, ‘किङ्ग पेलेले हामीलाई नयाँ ब्राजिल दिए, हामी उनको विरासतप्रति धन्य छौं। धन्यवाद पेले।’

पेलेको पूर्व क्लब सान्तोसले उनको अन्तिम संस्कारबारे सूचना दिएको छ। सोमबार अस्पतालबाट उनको पार्थिव शरिर क्लबको मैदान इस्टाडियो अर्बानो काल्डेइरामा राखिने छ। जहाँ पुगेर आम सर्वसाधारणले श्रद्धाञ्जली दिन सक्ने छन्।

मंगलबार पारिवारिक अन्त्येस्टिका लागि लगिने क्लबले बताएको छ। एड्सन आरान्तेस डो नाससिमेन्टो, जसलाई पेलेको नामले सुपरिचित गरायो, उनी १७ वर्षको उमेरमा ग्लोबल स्टार बनेका थिए।

पेलेले सन् १९५८ मा स्वीडेनमा भएको विश्वकप ब्राजिललाई जिताएका थिए। समूह चरणदेखि आफूलाई सुरुआती ११ तर्फ लम्काएका थिए। उनले त्यसबेला वेल्सविरुद्धको क्वार्टरफाइनलमा एक गोल गरेका थिए। यस्तै, सेमिफाइनलमा फ्रान्सविरुद्ध ह्याट्रिक गरेका थिए। फाइनलमा आयोजक स्वीडेनविरुद्ध ब्राजिलले गरेका पाँचमध्ये दुई गोल पेलेकै नाममा थियो।

उनले विश्वकपको दुई वर्षअघि १५ वर्षको उमेरमा साओ पाउलोमा डेब्यू गरेका थिए। त्यो खेलमा साओ पाउलोले कोरिथिएन्सलाई ७–१ ले पराजित गर्दा पेलेले पनि गोल गरेका थिए।

जुन साओ पाउलोका लागि १९ वर्षमा पेलेले गरेका ६४३ गोलमध्ये पहिलो थियो। यद्यपि, सान्तोषले भने एक हजारभन्दा धेरै गोल गरेको दाबी गर्दै आएको छ। ब्राजिलियन संघ र सान्तोष पेलेले १,३६७ खेलमा १,२८३ गोल गरेको दाबी गर्छन्। तर, फिफा भने १,३६६ खेलमा १,२८१ गोल गरेको दाबी गर्छ।

सन् १९६२ विश्वकपमा पेले २१ वर्षका थिए। उनले मेक्सिकोसँगको पहिलो खेलमा दुई उत्कृष्ट गोल गरेका थिए। त्यसपछि घाइते भएका पेलेले बेन्चमा बसेर आफ्नो टिमले विश्वकपको उपाधि रक्षा गरेको हेरेका थिए।

विश्वकपमा तेस्रो पटक उत्रिएका पेलेले १९७० मा झन् सनसनी मच्चाएका थिए। फाइनलमा इटालीलाई ४–१ गोलको नतिजामा पराजित गर्दा पेलेले पहिलो गोल गरेका थिए।

उनले न्यू योर्क कस्मसबाट खेलेर व्यावसायिक करिअर टुङ्ग्याए। जहाँ उनले जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउर र सन् १९७० मा विश्वकपमा जित्दाका अन्य साथीहरुसँग खेल्ने मौका पाए।

चर्चामा

सम्बन्धित समाचार