शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्टक
  • सेयर बजारले रुचाएका अर्थमन्त्री : नेप्सेमा फेरि बन्ला नयाँ कीर्तिमान ?

सेयर बजारले रुचाएका अर्थमन्त्री : नेप्सेमा फेरि बन्ला नयाँ कीर्तिमान ?

  • मङ्लबार, पुस १२, २०७९
सेयर बजारले रुचाएका अर्थमन्त्री : नेप्सेमा फेरि बन्ला नयाँ कीर्तिमान ?

नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा बन्ने नयाँ सरकारलाई सेयर बजारले स्वागत गरिसकेको छ । नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सेयर बजार परिसूचक आज सोमबार एकै दिन ५६ अङ्कले उचालिएको छ । यससँगै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ सय २४ अङ्कमा पुगेको छ ।

बजार उच्च अङ्कले बढिरहँदा प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारका अर्थमन्त्री विष्णु पौडेल र नेपाली सेयर बजारबीच भने छुट्टै कनेक्सन छ । प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो इनिङ्स जस्तै पौडेल तेस्रो पटक अर्थमन्त्री बन्दैछन् । पौडेल यसअघि नै २ पटक अर्थमन्त्री बनिसकेका थिए । यसपटक पनि अर्थमन्त्री बनेसँगै पौडेलले अर्थमन्त्रालयमा ‘ह्याट्रिक इन्ट्री’ गर्दैछन् ।

प्रचण्ड नेतृत्वको सरकारमा पौडेलको नाम अर्थमन्त्रीमा आएपछि बजार एकाएक बढेको लगानीकर्ताहरू बताउँछन् । यसअघि, पौडेल २ पटक अर्थमन्त्री बन्दा दुई पटक नै नेपाली सेयर बजारले कायम गरेको कीर्तिमानलाई हेर्दा समेत सोही प्रवृत्ति देखिन्छ । २०७३ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १८८१ अङ्कको कीर्तिमान कायम गर्दा समेत अर्थमन्त्रीमा विष्णु पौडेल नै थिए ।

यसैगरी, त्यसयता लामो समयसम्म रुमलिएर बसेको सेयर बजारले २०७८ साल भदौ २ गते सेयर बजारमा नयाँ कीर्तिमान बन्दा समेत अर्थमन्त्रीमा पौडेल नै थिए । उक्त मितिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ सय ९८ अङ्कको बिन्दुमा पुगेको थियो । त्यसयताको १५ महिना समेत सेयर बजार निरन्तर घटेको थियो । घटेर १८ अङ्कको नजिक आइसकेको नेप्से परिसूचक आज एकाएक बढेको हो ।

यसअघि, २०७३ सालमा १८८१ अङ्कको बिन्दुमा पुगेपछि पनि नेप्से सूचक ११ सय अङ्कमा आएर लामो समय रुमल्लिएको थियो । त्यसयता, नेप्सेले पुनः नयाँ कीर्तिमान बनाउनका लागि पौडेल नै ४ वर्षपछि अर्थमन्त्री बन्नुपरेको लगानीकर्ताहरू बताउँछन् । पौडेलअघि केपी ओली नेतृत्वको सरकारका डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बजारले गति लिन सकेको थिएन । अझ खतिवडाले सेयरमा लगानी गर्नुको साटो पैसा बैंकमा राखेर ब्याज खान भनेपछि उनीसँग लगानीकर्ता झनै रुष्ट बनेका थिए ।

सेयर लगानीकर्ता छोटेलाल रौनियार सेयर लगानीकर्ताले अर्थमन्त्रीका रूपमा विष्णु पौडेललाई रुचाउने बताए । उनले यसअघिको परिदृश्यहरू समेत हेर्दा पौडेललाई अर्थमन्त्रीका रूपमा लगानीकर्ताले स्वीकार गर्ने गरेको बताए । ‘अर्थमन्त्रीकारूपमा रहँदा पौडेलले पूँजीबजारको वातावरण नसुधारे पनि बिगार्दैनन्’, रौनियारले भने, ‘यही कारणले अर्थमन्त्रीमा विष्णु पौडेल हुँदा पटक–पटक बजारले कीर्तिमान बनाएको छ ।’

यस्तै, अर्का लगानीकर्ता ताराप्रसाद फुलेल समेत अर्थमन्त्रीमा विष्णु पौडेल हुँदा बजारले नयाँ दिशा लिने गरेको बताउँछन् । ‘यसअघि, १८८१ अङ्कको कीर्तिमान बन्दा र ३१९८ अङ्कको कीर्तिमान बन्दा समेत संयोगले पौडेल नै अर्थमन्त्री थिए,’ फुलेलले भने, ‘आज पनि पौडेल अर्थमन्त्रीकोरूपमा अघि सर्दा उनलाई बजारले स्वागत गर्यो ।’ यसबाहेक, नेपाल राष्ट्र बैंकसँग अर्थमन्त्री पौडेलको विचार र धारण मिल्ने भएकाले पनि लगानीकर्तामा खुसीयाली आएको फुलेलको भनाइ छ ।
सेयर बजारका विश्लेषक ज्योति दाहाल भने सेयर बजारको विशेषता नै घटबढ गर्ने भएको बताउँछन् । उनले कुनै व्यक्तिका कारणले आजको नेप्से परिसूचक उच्च अङ्कले बढेको भन्न छिटो हुने बताउँछन् । ‘यसअघि २ पटक पौडेल अर्थमन्त्री हुँदा बजारले नयाँ कीर्तिमान कायम गरेको थियो,’ दाहाल भन्छन्, ‘अब फेरी उनकै नेतृत्वमा बजारले नयाँ कीर्तिमान कायम गर्ने÷नगर्ने विषयमा विश्लेषण गर्न छिटो हुन्छ ।’

गत वर्षको भदौ २ गते ३१ सय ९८ अङ्कमा नेप्से परिसूचक पुग्दा नेप्सेको पुँजीकरण ४४ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो । जबकि, त्यसयताको १५ महिना लगातार घट्दै नेप्सेको बजार पुँजीकरण यतिबेला २४ खर्ब रुपैयाँ हाराहारी आएको छ । यसबीचमा नेप्सेले बजार मूल्य २० खर्ब रुपैयाँ हाराहारीमा गुमाएको छ । यस्तै, ३२ सय अङ्क नजिक पुगेको नेप्से परिसूचक घटेर १८ सय अङ्कमा आइसकेको थियो । १५ महिनाको अवधिमा १४ सय अङ्कले खुम्चिएको नेप्से तल जाने ठाउँ नै नभएकाले बढ्ने बेला भएको समयमा अर्थमन्त्रीमा पौडेलको इन्ट्री भएको समेत लगानीकर्ताहरूको भनाइ छ ।

यसबाहेक, यतिबेला देशमा तरलताको चरम अभाव छ । यही कारण, सबै जसो क्षेत्रमा लगानीको स्रोत अभाव देखिन्छ । जसको प्रभाव सेयर बजारमा समेत पर्ने गरेको तर्क रौनियारको छ । अर्थमन्त्रीको पौडेलको इन्ट्रीसँगै केन्द्रीय बैंकसँग बिग्रेको अर्थ मन्त्रालयको सम्बन्ध समेत सुध्रिने भएकाले समेत लगानीकर्ताहरूमा उत्साह आएको हुन उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार