शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेसबाट देउवा र खाणकी पत्नीको संसदमा इन्ट्री, निधिलाई दोहोरो चिठ्ठा

कांग्रेसबाट देउवा र खाणकी पत्नीको संसदमा इन्ट्री, निधिलाई दोहोरो चिठ्ठा

  • आइतवार, मंसिर २५, २०७९
कांग्रेसबाट देउवा र खाणकी पत्नीको संसदमा इन्ट्री, निधिलाई दोहोरो चिठ्ठा

नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । मंसिर ४ माम सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा कांग्रेसले ३२ सिट पाएको थियो ।

कांग्रेसबाट ११० जना समानुपातिक उम्मेदवारमध्ये २९ जना महिला र ३ जना पुरुष सांसदका लागि सिफारिस भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरुषतर्फका तीन जनामा दलिततर्फ सहमहामन्त्री जीवन परियार, मधेसीतर्फ नेता विमलेन्द्र निधि र खसआर्यतर्फ पहिलो नम्बरमा रहेका प्रवक्ता प्रकाशशरण महतलाई रोजेका छन् । आदिवासी जनजाति पुरुषतर्फ नेता गोपालमान श्रेष्ठ, थारु पुरुषतर्फ नेता योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै रहेका सहमहामन्त्री फरमुल्लाह मन्सुर देउवाको रोजाइमा पर्न सकेनन् ।

डा.महत देउवाको निर्विकल्प रोजाइ बन्दा पूर्व उपसभापति श्रेष्ठ पनि छुट्न पुगे । पार्टीका सहमहामन्त्री परियार समानुपातिक सांसद बन्दा सहमहामन्त्री मन्सुर छुटे । योसँगै कांग्रेसबाट संघीय संसदमा मुस्लिम पुरुषको प्रतिनिधित्व शून्य भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणका विश्वासपात्र चौधरी पनि थारुतर्फ पहिलो नम्बरमा रहँदा पनि हेभिवेट नेताको मिचाइमा परे । पूर्व उपसभापति निधिलाई भने शनिबार दोहोरो खुसी मिल्यो । देउवा पक्षका सहमहान्त्री मन्सुर र पूर्व उपसभापति श्रेष्ठलाई पन्छाएर निधिले पाँच वर्षका लागि संघीय संसदको यात्रा तय गरे । यता मधेसी महिलातर्फ नेता निधिकी भान्जी निनुकुमारी कर्ण पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ ।

सभापति देउवा पत्नी आरजु राणा देउवा, गहृमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु खाण, कांग्रेस नेता स्वर्गीय नविन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी पनि सांसद बन्ने भएकी छन् । कांग्रेस केन्द्रीय सदस्यद्वय आरजु र मन्जु खसआर्य महिलातर्फ समानुपातिक सांसदका लागि सिफारिस भएकी छन् । यस्तै आदिवासी जनजातितर्फबाट राजभण्डारी पनि सांसद बन्ने पक्का भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा सार्वधिक मत पाएकी मुक्ताकुमारी यादव पनि समानुपातिक सांसद बन्ने पक्का भएको छ । कांग्रेसका संघर्षशील महिलाहरू माया राई, सरिता प्रसाईं, प्रतिमा गौतम, नागिना यादव लगायतले समानुपातिक सांसद बन्ने मौका पाए ।

नेता शेखर कोइरालाका बहिनी ज्याइ नाता पर्ने वसन्त भट्टराईले सांसद बन्ने सपना पुरा भएन । कांग्रेसबाट ३ जना मात्र पुरुषले अवसर पाएपछि खसआर्यको २ नम्बरमा रहेका भट्टराई रोकिए । भारतीय गृहमन्त्री अमित शाहको स्वकीय सचिव समेत बताउँदै आएका कांग्रेस नेता सन्दिप राना, व्यवसायी अनिल रुंगटा पनि सांसद बन्नबाट बन्चित भएका छन् ।

भारतीय जनता पार्टी निकट अखिल भारतीय विद्यार्थी परिषदका नेता सन्दिप राना कांग्रेसबाट आदिवासी जनजातिको ३ नम्बरमा नाम परेका थिए । रानालाई कांग्रेसले समानुपातिक उम्मेदवार बनाएपछि विरोध भएको थियो । ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने भएपछि उनीहरूको सांसद बन्ने यात्रामा ब्रेक लागेको छ ।

चर्चामा

सम्बन्धित समाचार