सोमवार, माघ १६, २०७९
  • होमपेज
  • समाज
  • जनप्रतिनिधिप्रति आशावादी छैनन् डडेलधुराका मतदाता

जनप्रतिनिधिप्रति आशावादी छैनन् डडेलधुराका मतदाता

  • सोमवार, मंसिर १९, २०७९
जनप्रतिनिधिप्रति आशावादी छैनन् डडेलधुराका मतदाता

मंसिर ४ को आमनिर्वाचन सम्पन्नसँगै मतदाताले जनप्रतिनिधिले गर्ने कामप्रति चाँसो राखेका छन्। आफुले निर्वाचन मार्फत जिताएर पठाएका जनप्रतिनिधिले ५ बर्षभित्र बिकास निर्माणसँगै आधारभुत आवश्यकता पुरा गर्छन् की गर्दैनन् भन्ने मतदातामा जिज्ञासा र चाँसो बढेको हो। अहिले सरकार गठनको कुरा चलिरहेको छ।

सरकार गठनपछि जनप्रतिनिधिले कस्ता काम गर्लान् भन्नेमा आमचासो र चर्चा बढ्नु स्वभाविक नै हो । मुख्य राजनीतिक दलको केन्द्रीय तहका नेताहरूले गरिरहेका गतिविधिले भने मतदाता आशावादी हुन सकेका छैनन् । यो निर्वाचनले सांकेतिक रूपमा दिएको परिवर्तनका संकेत नेताहरूले बुझ्लान् र जनभावनाअनुरूप अगाडि जालान् भन्ने आशा थोरैलाई मात्र छ,’ डडेलधुरा जोगबुढाका शिक्षक करवीर बोहराले जित–हार जसको भए पनि सरकार जसले बनाए पनि जनभावनाअनुरूपको परिवर्तन हुनेमा कतै आशावादी हुने संकेत नदेखिएको बताए ।

पात्र, प्रवृत्ति र शैली नबदलिएसम्म परिवर्तन सम्भव नभएको उनले बताए । यसपटक पनि चुनाव विकास र समृद्धिका मुद्दामा केन्द्रित हुन नसकेको उनको भनाई छ । ‘अघिल्लो र पछिल्लो पुस्ता, युवा, वृद्धजस्ता महत्त्वहीन विषयमा मतदाता पनि ध्रुवीकरण भएको उनले भने ।

मतदाताले पनि घोषणापत्रमा आधारित भएर मतदान गर्न नसकेको उनको भनाई छ । डडेलधुराको आधा जनसंख्या भएको रंगुन उपत्यकाका बासिन्दाका लागि तटबन्ध, तराई–पहाड जोड्ने सडक, महाकालीसहित साना–ठूला नदीमा पक्की पुल, सिँचाइ योजना, आयआर्जन वृद्धिका योजना, भित्री मधेसमा प्राविधिक कलेज, परशुरामधामको विकासजस्ता महत्त्वपूर्ण मुद्दाहरू निर्वाचनका समयमा गौण भए ।

सामाजिक कार्यकर्ता चूडामणि पनेरू प्रदेशका प्रतिनिधि चयनमा उम्मेदवारको भूगोलले महत्त्व पायो भने संघीय प्रतिनिधिमा नयाँ र पुरानो पुस्तालाई जिताउने भन्नेमा मतदाता ध्रुवीकरण भएको बताउँछन् । ‘राजनीतिक दलका नेता निर्वाचित प्रतिनिधिहरूमा मात्र होइन, आममतदातामा पनि सकारात्मक परिवर्तन हुन नसकिएको भनाए छ ।

परिणाम जस्तो आए पनि आममतदाताहरूमा भने अबका ५ वर्ष केही सकारात्मक परिवर्तन होला भन्नेमा आशा भने पलाएको देखिँदैन । २ स्थानीय तह रहेको डडेलधुराको भित्री मधेस क्षेत्रमा युवा पुस्ताको मत सागर ढकालले धेरै पाए । सुदूरपश्चिमका ७ पहाडी जिल्लाबाट बसाइँ सरेका मतदाताको बाहुल्यता रहेको यो क्षेत्रले जिल्लाको समग्र राजनीतिक अवस्थामा ठूलो प्रभाव राख्छ ।

जिल्लामा सबैभन्दा बढी मतदाता पनि यसै क्षेत्रमा छन् । जिल्लाको विकासको आधाभन्दा बढी बजेट पनि यही क्षेत्रमा आउने गरेको छ । तर, विकासका दृष्टिकोणले पहाडी गाउँभन्दा यस क्षेत्रका गाउँ निकै विकट र दुर्गम छन् । जोगबुढा क्षेत्रमा महाकालीपारि भारतीय गाउँ र वारि नेपाली गाउँहरूको बीच धेरै भिन्नता रहेको अगुवा किसान रणवीर भट्टराई सुनाउँछन् ।

उस्तै भूगोल भएका तर महाकालीले छुट्याएका दुवैतिरका गाउँबीच तुलना गर्न नसकिने उनको भनाइ छ ।वर्षौंदेखि चुनावका समयमा उम्मेदवारहरूले गर्ने प्रतिबद्धता र जनताले माग्ने विकासका योजनाहरू फेरिएका छैनन् । चुनावपछि फेरि यिनै विकास योजना र समस्या समाधानका लागि सर्वसाधारणले जनप्रतिनिधिकहाँ धाउने कार्य पनि नफेरिएको परशुराम–४ का शिक्षक हरि मालीले बताए ।

‘५ वर्षअघिको चुनावमा जे जस्ता प्रतिबद्धता उम्मेदवारले गरे यसपटक पनि त्यही दोहर्याएको उनको भनाई छ । मतदाताले पनि तिनै समस्या दोहर्याए । उम्मेदवारले वचन दिए मतदाताले मत दिए यस पटकलाई चुनाव सकियो । उनले यो क्रम वर्षौंदेखि निरन्तर चलिरहेको बताए । अर्को पटकको चुनावमा कुनै नयांँ चुनावी मुद्दा र मतदाताका नयाँ माग होलान् भनेर आशा गर्ने ठाउँ निकै कम रहेको उनको भनाई छ।कान्तीपुरबाट

चर्चामा

सम्बन्धित समाचार