प्रतिनिधिसभाको समानुपातिकतर्फ सबभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले ३३ सिट सुरक्षित गरेको छ ।
निर्वाचन आयोगका अनुसार अब थोरै मत गणना गर्न बाँकी भएकाले दलहरुले पाउनसक्ने सिटमा हेरफेर हुने सम्भावना कम छ । २७ लाख ८८ हजार ३५६ मत पाएको एमालेले ३३ सिट पाउने देखिएको छ ।
यसमा एमालेले अधिकतम १५ जना पुरुष जाने पठाउनसक्ने देखिएको छ । संविधानको धारा ८४(८) मा ‘संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नुपर्ने’ व्यवस्था छ ।
एमालेले प्रतिनिधिसभाको प्रत्यक्षमा ४४ सिट जितेको छ । राष्ट्रियसभामा एमालेका १५ जना सांसद छन् । संघीय संसदमा एमालेको कुल ९२ सिट हुनेछ । संवैधानिक व्यवस्था अनुसार, संघीय संसदमा एमालेबाट कम्तिमा ३१ जना महिला सांसद हुनुपर्छ ।
प्रतिनिधिसभामा निर्वाचित ४४ मध्ये ४ जना महिला निर्वाचित भएका छन् । राष्ट्रियसभामा एमालेका १५ मध्ये ९ जना महिला सांसद छन् । अर्थात १३ जना महिला सांसदमात्रै संघीय संसदमा पुगेकाले एमालेले ३३ समानुपातिक सांसदमा १८ जना महिला अनिवार्य हुनुपर्छ ।
प्रतिनिधिसभा सदस्य समानूपातिक निर्वाचन निर्देशिका २०७९ अनुसार, ३३ जना सांसद पाउने दलले निम्न क्लष्टरबाट निम्न बमोजिमका सांसद छनौट गर्नुपर्छ ।
क्लष्टर/प्रतिशत | कुल सांसद | न्यूनतम | अधिकतम |
आदिवासी/जनजाति २८.७ | १० | ५–६ | ४–५ |
खस आर्य ३१.२ | १० | ५–६ | ४–५ |
थारु ६.६ | २ | १–२ | ०–१ |
दलित १३.८ | ५ | २–३ | २–३ |
मधेशी १५.३ | ५ | २–३ | २–३ |
मुस्लिम ४.४ | १ | १ | ० |
कुल | ३३ | १८ | १५ |
१८ जना महिला अनिवार्य रुपमा निर्वाचित गर्नैपर्ने भएकाले हरेक क्लष्टरबाट प्रतिशत निकालेर क्लष्टर अनुसार नाम पठाउनु पर्छ । दशमलवमा नतिजा आएमा एक अंक कम वा बढी संख्यामा निर्वाचिन सांसद छान्न पाउनेछन् ।
यसरी हेर्दा न्यूनतम महिला निर्वाचन गर्नुपर्ने कानूनी व्यवस्थाका कारण हरेक क्लष्टरबाट अनुपात अनुसार महिला निर्वाचित हुने सुनिश्चित भएको छ ।
यसअनुसार एमालेको खस आर्यतर्फ ५ जना महिला निर्वाचित हुनेछन् । मेनका कुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला खस आर्य महिला कोटाको अग्रस्थानमा छन् ।
आदिवासी जनजातितर्फ नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर गरी कम्तिमा ५ जना निर्वाचित हुने भएका छन् । थारु कोटामा आश्मा कुमारी चौधरी निर्वाचित हुने निश्चितजस्तै छ । दलित कोटामा रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा निर्वाचित हुनेछन् । मधेशी कोटामा वीना देवी र अमृता देवी अग्रहरी निर्वाचित हुनेछन् । मुस्लिम कोटाबाट रुही नाज निर्वाचित हुनेछन् ।
अरु उम्मेदवारको हकमा भने कोटामा संख्या हेरफेर हुदा चयन हुने सम्भावना मात्रै छ, निश्चित भने छैन् ।
को को पुरुषको सम्भावना रहला ?
एमालेले आफूले पठाउनुपर्ने सबै सांसद महिलालाई पठाउँछु भन्दा कानुनी अड्चन हुन्न । तर समानूपातिकतर्फ महिला पठाउनैपर्ने न्यूनतम कोटा छुट्याएर बाँकीमा पुरुष पठाउने हो भने बढीमा १५ जनाले सांसद बन्ने अवसर पाउने देखिन्छ । त्यसमा आदिवासी जनजातितर्फ बढीमा ५ जना पुरुष सांसद हुनेछन् । त्यसमा क्रमशः देवी प्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, भीम बहादुर खवास र सरोज डंगोल छन् ।
खसआर्यतर्फ पनि ५ जना पुरुष निर्वाचित हुन पाउने सम्भावना छ । त्यो सूचीमा क्रमशः रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही र खिमलाल पोख्रेल छन् । यसैगरी मधेशीतर्फ अधिकतम पुरुष छानिएमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र उपेन्द्रप्रसाद साहको सम्भावना छ ।
दलित क्लष्टरबाट पनि एमालेले अधिकतम ३ जनासम्म पुरुष सांसद पठाउनसक्छ । यो क्लष्टरमा ईश्वरबहादुर रिजाल, प्रभु हजारा दुसाध, चन्द्रबहादुर विश्वकर्मा छन् ।
थारुमा हदै भए एमालेले १ जना पुरुष निर्वाचित गर्नुपर्छ । थारु क्लष्टरको १ नम्बरमा सत्यनारायण चौधरी छन् ।
मुस्लिम कोटामा १ जनामात्रै निर्वाचित हुनेछन्, जसमा एमालेले अनिवार्य रुपमा महिला पठाउनुपर्ने भएकाले पुरुषको सम्भावना छैन । तर अरु क्लष्टरको न्यूनतम सांसद पठाएर बाकी रहने हिस्सामा भने मुस्लिम सांसद थप्न सक्नेछ ।