शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • यसरी ढल्यो अफताव आलमको विरासत

यसरी ढल्यो अफताव आलमको विरासत

अफतावका छोरा फिरदोसलाई स्वतन्त्र उम्मेदवारले गरे पराजित

  • शुक्रबार, मंसिर ९, २०७९
यसरी ढल्यो अफताव आलमको विरासत

प्रतिनिधिसभातर्फ रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवार साहले ३२ हजार ८४२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी आलमले २८ हजार २४८ मत ल्याए । साहले चार हजार ५९४ मतले आलमलाई पराजित गरे ।

रौतहट–२ कांग्रेसका नेता अफताव आलमको क्षेत्र हो । सो क्षेत्रलाई नेपाली कांग्रेसको गढ मानिन्छ । मुस्लिम बाहुल्य सो क्षेत्रमा अफताव आलम र उनका परिवारले वर्षौदेखि प्रभाव जनाउँदै आएका थिए । अफताव आलमका परिवारका सदस्यबाहेक हालसम्म त्यहाँ कसैले चुनावमा जित हासिल गर्न सकेको छैन ।

मधेस आन्दोलनपछि एकपटक बाहेक २०४८ देखि २०७४ सम्म अफताव आलम र उनका परिवार नै सो क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका छन् । बम विस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा अफताव आलम पक्राउ परेपछि उनकै उत्तराधिकारीका रुपमा छोरा फिरदोस सो क्षेत्रबाट उम्मेदवार बनेका हुन् । फिरदोस आलम प्रहरीमा जागिरे थिए । अफतावले सो क्षेत्रमा आफ्नो विरासत जोगाउनका लागि आफ्नो छोरालाई जागिरबाट राजीनामा दिन लगाएर प्रतितिनिधिसभा सदस्यमा उम्मेदवारी दिन लगाएका थिए ।

तर धेरै दिनको उकुसमुकुसपछि सो क्षेत्रका मतदाताले अफताव आलमविरुद्ध आफ्नो मत जाहेर गरेर किरण साहलाई जिताए । साह लामो समय माओवादीमा रहेर काम गरेका थिए । पछि उनी तत्कालीन मधेसी जनअधिकार फोरममा आवद्ध भए । त्यहाँ पनि उनी लामै समय काम गरे । स्थानीय चुनावको समयमा उनी जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए तर संयोगवस् एमाले र जसपाबीच गठबन्धन बनेपछि सो क्षेत्र जसपाको भागमा प¥यो । जसपाले शैलेन्द्र साहलाई टिकट दियो । शैलेन्द्र टिकटकै लागि एमाले छाडेर जसपामा गएका थिए । एमालेबाट टिकट नपाएपछि किरण साहले स्वतन्त्र उम्मेदवारी दिए । प्रभु साहले उनलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाएका थिए ।

एमाले–जसपा गठबन्धनका उम्मेदवार शैलेन्द्र साहले दुई हजार १४२ मत पाएका थिए । स्रोतका अनुसार आलमको विरासत ढाल्न शैलेन्द्र साहले पनि किरणलाई सघाएका थिए ।

२०७४ को आमचुनावमा किरण साहले तत्कालीन फोरमबाट आफताव आलमविरुद्ध चुनाव लडेका थिए । त्यतिबेला उनी एक हजार ५५५ मतले पराजित भएका थिए । उनी पराजित भए पनि हिम्मत हारेनन् । सो क्षेत्रका मतदाताकै समिपमा रहेर उनले काम गरे ।

गत स्थानीय चुनावमा किरण साहले आफ्ना श्रीमती प्रमिला कुमारी साहलाई राजपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिन लगाएका थिए । रौतहट २ नम्बर यस्तो क्षेत्र हो जहाँ अफताव आलम र उनका परिवारको रवाफ चल्थ्यो ।

सो क्षेत्रका मतदाता जयप्रकाश कौशल भन्छन्, ‘अफताव आलम र उहाँका परिवारको डरले कोही केही बोल्ने अवस्थामा थिएनन्, किरण साहले त्यहाँका मतदातालाई भरोसा दिलाउनु भयो र जित हासिल गर्नुभयो ।’​अफताव आलमको किल्ला भत्काउन सकिन्छ भनेर कसैले विश्वास गरेका थिएनन् तर किरण साहले त्यो गरेर देखाइदिएको कौशलले बताए ।

यसअघि भएको स्थानीय चुनावमा पनि डाक्टर रहेका आफ्नो छोरा रजिक आलमलाई उनले उम्मेदवारी दिन लगाएका थिए । उनी चुनाव जित्न सफल पनि भए । सो क्षेत्रमा उनका परिवारको कस्तो पकड छ भन्ने उदहारणका रुपमा पनि यसलाई लिन सकिन्छ ।

रौतहटको राजपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका तर्फबाट वकिल अख्तर, नेपाली कांग्रेसका तर्फबाट रजिक आलम, एमालेको तर्फबाट शेख सकिल अख्तर र जनता समाजवादी पार्टी नेपालको तर्फबाट मोहम्म जैद आलम (जैद राजा) उम्मेदवारी थिए । उनीहरु सबै एउटा परिवारका हुन् ।

सो परिवारका मुख्य व्यक्ति शेख इद्रिस नेपाली कांग्रेसका पुराना नेता हुन् । नेपाली कांग्रेसको राजनीतिमा शेख इद्रिसका बुबा शेख ल्याकत पनि सक्रिय थिए । रौतहटमा पञ्चालयकालमै कांग्रेसको संगठन विस्तार गर्न उनको योगदान महत्त्वपूर्ण मानिन्थ्यो ।

त्यसपछि शेख सदिख, शेख जहिर र शेख इद्रिस राजनीतिमा आएका थिए । शेख इद्रिसपछि मोहम्मद अफताव आलम र मोहम्मद महताफ आलमले विरासत सम्हाले । कांग्रेसका नेता शेख सदिखका छोरा हुन् अफताव आलम र महताफ आलम ।

तर राजपुर फरहदवा बमकाण्डका आरोपमा मोहम्मद अफताव आलम र मोहम्मद महताफ आलम अहिले जेलमा छन् । यही बेला उनका छोरा रजिक आलम र फिरदोस आलम राजनीतिमा आएका छन् । रजिक मेयरमा निर्वाचित भए पनि संघीय निर्वाचनमा फिरदोस भने पराजित भए ।

सोही परिवारका शेख वकिल माओवादी केन्द्रबाट राजनीतिमा सक्रिय छन् । उनी माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार थिए । त्यस्तै, शेख इद्रिसका भाइ शेख जहिरका छोरा शेख सकिल अख्तर एमालेबाट मेयरको उम्मेदवार बनेका थिए । उनी अघिल्लो स्थानीय तहको चुनावमा कांग्रेसबाट मेयरमा जितेका थिए । कांग्रेसबाट अफताव आलमको छोरा रजिकले टिकट पाएपछि शेख सकिल एमालेमा प्रवेश गरेर टिकट लिएका थिए । अफताव आलमका भन्जा हुन् मुस्ताक आलम । उनी एमालेका सक्रिय नेता थिए । उनका छोरा मोहम्मद जैद आलम (जैद राजा) जसपाबाट सो नगरपालिकमा मेयरमा उम्मेदवारी दिएका थिए ।

यसअघि उनी विजय कुमार गच्छदारको तत्कालीन नेपाल लोकतान्त्रिक फोरम नेपालबाट मेयरमा चुनाव लडेका थिए । त्यतिबेला उनले १६९० मत ल्याएका थिए । लोकतान्त्रिक पार्टी कांग्रेसमा मिसिएपछि उनी एमालेमा गएका थिए । तर चुनावमा एमालेले टिकट नदिने भएपछि उनी रातारात जसपामा सामेल भएर टिकट प्राप्त गरेका थिए । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार