आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङमा भूकम्पले ६ घर भत्कायो

बझाङमा भूकम्पले ६ घर भत्कायो

  • बुधबार, कार्तिक २३, २०७९
बझाङमा भूकम्पले ६ घर भत्कायो

अर्थ जङ शाही/ बझाङ — खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण जिल्लाका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्‍याएको छ भने ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
No description available.

थलारा गाउँपालिका ९ सिरेटामा महोनराज जोशी, जौकला सिंह, हंसा चदारा, अपु नेपाली, वीरबहादुर नेपाली र छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ व्यासीका डबल कामीको घरमा पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। त्यस्तै थलारा गाउँपालिकाको सिरेटामै २५, केदारस्युँ गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ९ वटा घरमा आंशिक क्षति पुगेको अवस्थीले बताए। यस्तै जिल्ला कारागार बझाङको भवनमा समेत आंशिक क्षति पुगेको छ।

थलारा गाउँपालिका वडानम्बर ९ सिरेटाका स्थानिय महोनराज जोशीले भूकम्पको त्रासले रातभर गाउँभरिका मानिस आगो बालेर खुला चौरमा बसेको बताए। भूकम्पले मानविय क्षति नभए पनि अधिकांश पुराना घरमा क्षति पुर्‍याएको सामान्य जानकारी आए पनि नेटवर्कको समस्याका कारण सबै ठाउँबाट पूर्ण जानकारी आइनसकेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार