• होमपेज
  • राजनीति
  • चुनाव आयो, नेता आए, विकास आएन

चुनाव आयो, नेता आए, विकास आएन

  • आइतवार, कार्तिक २०, २०७९
चुनाव आयो, नेता आए, विकास आएन

प्युठानमा नौमुरे जलविद्युत, चाल्नेटार विमानस्थल सञ्चालन, बाग्दुला भिमगिठे सडक, लुङ्री माडी सिंचाइ हरेकजसो चुनावमा मुख्य मुद्दा बन्दै आएका छन् ।

गणतन्त्र स्थापनापछिका सवैजसो चुनावमा सबैजसो उम्मेदवार र राजनीतिक दलले जोडतोडका साथ उठाएका मुद्दा हुन यी ।

बिगतका निर्वाचनमा जस्तै अहिले पनि यिनै मुद्दालाई प्राथमिकतामा राखेर दलहरु मतदाता समक्ष पुग्ने गरेका छन् ।

मुख्यप्रतिस्पर्धी मनिएका नेकपा एमालेका उम्मेदवार सूर्य थापा र सत्ता गठबन्धनबाट उठेकी राष्ट्रिय जनमोर्चाको दुर्गा पौडेलले दीर्घकालीन महत्वका यी विषयलाई महत्वकासाथ उठाएका छन ।

सत्ता गठबन्धनकी उम्मेद्वार दुर्गा पौडेलले जिल्लाको ठुला पूर्वाधार विकास देखी सडक, विमानस्थल, जलबिद्युत लगायत योजनालाई प्राथमिकता दिने बताउँदै आएकी छन् ।

‘संसद विघटन, कोभिड लगायतका कारण धेरै कामलाई पूर्णता दिन सकिनँ’ निवर्तमान सांसदसमेत रहेकी पौडेललले भनिन,’ अब ती सबै अधुरा योजनालाई पूर्णता दिन पहल गर्छु ।’

नेकपा एमालेका उम्मेदवार थापाले त जिल्लाको विकासको आधारका लागि भन्दै प्रतिबद्धता-पत्र समेत सार्वजनिक गरेका छन् । उनको प्रतिबद्धता-पत्रमा प्यूठानको नौमुरे, स्वर्गद्धारी विमानस्थल, बाग्दुला-भिमगिठे सडक, मदन भण्डारी राजमार्ग, जिवराज आश्रीत कृष्ण सेन इच्छुक राजमार्गलाई कार्यान्वयन गर्ने उल्लेख छ ।

स्वर्गद्वारी विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका थापाले प्यूठानमा पर्यटनको सम्भावनाको चर्चा गर्दै भने, ‘अबको निर्वाचनपछि ती योजनालाई प्रभावकारी कार्यान्वयन गर्न भूमिका खेल्छु ।’

राष्ट्रिय अर्थतन्त्र र जनजीविकामा दूरगामी प्रभाव पार्ने यस्ता महत्वपूर्ण आयोजना उम्मेद्वारका चुनावी नारा र प्रतिवद्धता हुने गरे पनि यसमा आशालाग्दो प्रगति देखिएको छैन ।

दशकौंदेखि नाम लिइरहेका यी आयोजनामा बजेट पनि विनियोजन हुने गरेको छ । तर, आधा पनि काम हुन सकेको छैन । स्वर्गद्वारी नगरपालिका–५ का भरत राउत २०७० सालको चुनावमा पनि दलहरुले यिनै लुङ्री माडी सिंचाइ, चाल्नेटार विमानस्थलको विषय महत्वका साथ उठाएको तर काम नभएको भन्दै अहिलेका उम्मेदवारले भने पनि आफूलाई कुनै आशा नरहेको बताउँछन् ।

वाम बुद्धिजिवी मोहन गिरी नेताहरुले जिल्लाको विकास योजनालाई चुनाव जित्ने अस्त्र मात्रै बनाएको आरोप लगाउँछन् । ‘विकास र जनताका एजेन्डाहरुमा नेताहरुको चासो खासै देखिन्न’ उनी भन्छन,’ पार्टीलाई केन्द्रमा राखेर काम गर्ने प्रवृत्तिले प्यूठानलाई ठूलो घाटा लागेको छ ।’

चर्चामा

सम्बन्धित समाचार