शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा र हुम्लाका नागरिकलाई जहाज टिकटमा सास्ती

बाजुरा र हुम्लाका नागरिकलाई जहाज टिकटमा सास्ती

  • शुक्रबार, कार्तिक १८, २०७९
बाजुरा र हुम्लाका नागरिकलाई जहाज टिकटमा सास्ती

बाजुरा–बाजुरा र हुम्ला जिल्लाका नागरिकलाइ जहाजको टिकट नपाउदा नागरिकलाई निकै सास्ती भोग्नु परेको छ । बाजुराको कोल्टि बिमानस्थल र हुम्लाको सिमकोट बिमान स्थलमा टिकट नपाउदा सयौ यात्रुहरु अलपत्र बनेका छन् ।
सडक सञ्जालसँग नजोडिएको हुम्लाका जनतालाई जहाज टिकट नपाउदा झनै सास्ती भएको छ । सिमकोट गाउँपालिका– ७ पाङ्लाथुङकी २४ वर्षीया पवित्रा सिंह शाहीले पाँच दिन कुरेपछि बल्ला नेपालगन्जका लागि टिकट पाइन् ।
बिरामी परेर थला परेकी उनलाई जिल्ला अस्पताल हुम्लाले अन्यत्र रेफर गरेको थियो । सबैतिर भौँतारिएपछि बल्लबल्ल प्रमुख जिल्ला अधिकारी सीता परियार र डिएसपी कृष्णराज ओझाको पहलमा जहाजको टिकट पाएपछि पाँच दिनपछि उपचारका लागि नेपालगन्ज झरिन् ।
हुम्लाको सर्केगाड गाउँपालिका– ७ की पवित्रा शाहीले चार दिनदेखि उच्च रतस्रावका कारण सुत्केरी हुन नसकेर अकालमै ज्यान गुमाइन् । हवाई टिकटमा पहुँच नहुँदा समयमा उपचार नपाएर उनको अकालमै ज्यान गयो ।
उनीहरू दुईजना प्रतिनिधि पात्र मात्रै हुन् । दसैँ–तिहारजस्ता चाडपर्व मनाउन विभिन्न सहरबाट घर फर्कने यात्रु टिकट नपाएर बर्सेनि अलपत्र पर्छन् । यो दसैँमा पनि टिकट नपाएरै हुम्लीहरू नेपालगन्ज र सुर्खेतका एयरपोर्टमा अलपत्र परे । बर्सेनि एउटै समस्या भोग्नुपर्ने बाध्यताबीच चुनावको वेला नेताहरू भोट माग्न आउँदा स्थानीयहरू नेतासँग आक्रोशित छन् ।
नेपालगञ्ज बाट नेपाल एयरलाइन्स, समिट, तारा, सिता, गोमाले बाजुरा र कर्णाली जिल्लाका पहाडि जिल्लामा उडान भर्ने गरेका छन् । नेपालगञ्जमा जहाज कम भएकाले जहाजले उडान कम भर्ने गरेको पाईएको छ । धेरै जहाज पर्यटक ओसार्न पोखरा र पुर्व तिर गएपछि जहाज कम भएर उडानमा समस्या भएको निजि एयरलाइन्सले वताएको छ ।
जनतालाई टिकट पाउन समस्या भएपनि नेतालाई भने जहाज सहज रुपमा बोक्ने गरेका छन् । कर्णालीका मन्त्री र नेताहरूलाई भने हवाई टिकटमा कुनै समस्या छैन । प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला जानुपर्दा निजी क्षेत्रको समिट एयर जतासुकै भए पनि भनेकै ठाउँमा पुग्छ ।
नेकपा एमालेका छक्कबहादुर लामा, दल रावललगायतका लागि सीता एयर पुग्छ । नेताहरूका आडमा निजी एयरलाइन्स तयारी अवस्थामा हुने भए पनि जनताका लागि बेखबर हुने हुम्लाका पत्रकार नरजंग तामाङ्गले वताए ।
चुनावी माहोल सुरु भएकै वेला पनि मुख्यमन्त्री शाहीलाई हुम्ला लिएर समिट एयरले उडान भ¥यो भने एमालेका छक्कबहादुर लामालाई लिएर सीता एयरको विमान हुम्ला पुग्यो । शुक्रवार सिमकोट बाहिर टिकटका लागि हुम्ला बासिले नारबाजि गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार