• होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा समाजवादीलाई गठबन्धनको भर, तीन उम्मेदवारको अवस्था के ?

सुदूरपश्चिममा समाजवादीलाई गठबन्धनको भर, तीन उम्मेदवारको अवस्था के ?

  • शुक्रबार, कार्तिक १८, २०७९
सुदूरपश्चिममा समाजवादीलाई गठबन्धनको भर, तीन उम्मेदवारको अवस्था के ?

धनगढी – प्रतिनिधिसभा सदस्यका लागि सुदूरपश्चिममा १६ क्षेत्र छन्। मंसिर–४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा भइरहेको छ। जसमा सत्ता गठबन्धनका दलहरु चुनावी तालमेल गरी मैदानमा उत्रिएका छन्। भने, एमाले लगायत अन्य स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदान छन्।

प्रतिनिधि सभा सदस्यका १६ क्षेत्र रहेका सुदूरपश्चिममा तीन क्षेत्रमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार छन्। जस मध्यको एक सिट हो बझाङ। बझाङमा समाजवादीका तर्फबाट नेता पूर्व मन्त्री भानुभक्त जोशी चुनावी मैदानमा छन्।

प्रतिनिधि सभा सदस्यमा जित्नका लागि प्रतिस्पर्धामा रहेका जोशी आफु जित्नेमा ढुक्क छन्। ‘सबैको घर–घरमा पुग्न सकिएको छैन। तर, हामी जनता माझ नै छौं। गठबन्धनका उम्मेदवार जित्नेमा छ ढुक्क छु,’ उनले भने। सुदूरपश्चिममा समाजवादीले पाएको अर्को क्षेत्र डोटी हो। प्रतिनिधि सभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एसको तर्फबाट पूर्व मन्त्री प्रेमबहादुर आले चुनावी मैदानमा छन्।

उनी यस अघि दुई पटक डोटीबाटै निर्वाचितसमेत भएका थिए। उनलाई अहिले काँग्रेस र माओवादी केन्द्रको समेत साथ छ। केही एमालेका कार्यकर्ताहरुसमेत उनकै चुनवाी प्रचारमा लागेका दाबी गरिएको छ। काँग्रेसको भरमा समाजवादीका नेताहरु प्रतिनिधि सभा सदस्यको लागि चुनावी मैदानमा रहेका हुन्। काँग्रेसले साथ दिए, डोटीमा आलेको जित सहज हुने आँकलन गरिएको छ।

अछाममा समाजवादीकै नेता तथा मन्त्री शेरबहादुर कुँवर पनि चुनावी मैदानमा छन्। दुई क्षेत्र रहेको अछाममा नेता कुवँर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा रहेका हुन्। उनलाई पनि काँग्रेस र माओवादी केन्द्रको साथ छ। उक्त क्षेत्रमा गठबन्धनको मत ३० हजार भन्दा बढी रहेको दाबी गरिएको छ।

गठबन्धनका दलहरुले सहयोग गरे जित निश्चित रहेको दाबी समाजवादीका नेताहरुको छ। गठबन्धन दलका कार्यकर्ताहरु विच्किएका भएपनि नेताहरु भने चुनावी अभियानमा होमिएका हुन्। प्रतिनिधि सभाका उम्मेदवार कुँवरले अछाममा गठबन्धनका ३० हजार बढी मत रहेको बताए। ‘हाम्रो मत नै बढी छ। सबै दलका नेता कार्यकर्ताहरु एक ढिक्का भएका लागेका छन्। जित निश्चित छ,’ उनले भने। सुदूरपश्चिमका १६ सिट मध्ये तीन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको समाजवादी गठबन्धन दलबाट पूर्ण साथ भए सहज रुपमा जित निकाल्ने दाउमा छ।

चर्चामा

सम्बन्धित समाचार