अर्थ जङ शाही/बझाङ — बझाङ सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो। मेलामा विभिन्न ठाउँबाट जात्रालु ओइरिएका थिए । दिनभरी मेलामा उनीहरुले इष्टमित्रहरुसँग खुसी साटासाट र एकआपसमा रमाइलो गरे । कतिले देउडा कम्मर मर्काए। तर यो खुसी धेरै बेर टिक्न सकेन ।
जात्राले ल्याएको रमाइलो पललाई दुर्घटनाले क्षणभरमै शोकाकुल बनाएको छ । दुर्घटनामा जात्राबाट घर फर्किरहेकाहरु कसैले ज्यान गुमाए त कोही अस्पतालको शैयामा जीवन मृत्युको दोसाँधमा छन् ।
सदरमुकाम चैनपुरमा लागेको मेला हेरेर फर्किनेहरु चढेको जीप बझाङमा दुर्घटनामा परेको हो। दुर्घटनामा अहिले सम्म ८ जनाले ज्यान गुमाइसकेका छन् भने बाँकी १५ जना घाइते भएका छन्।घाइते ४ जनालाई धनगढी रेफर गरिएको छ। घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षीय सिंहबीर बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यस अघि पनि २०७६ साल असार २ गते पनि सोही सडक खण्ड अन्तर्गत डौठी भन्ने ठाँउमा जीप दुर्घटना हुँदा १० जनाले ज्यान गुमाएका थिए। यतिबेला मष्टा गाउँ शोकमा डुबेका छ।