• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • प्रेम आलेले मागे डोटीका पत्रकारहरुसँग माफी

प्रेम आलेले मागे डोटीका पत्रकारहरुसँग माफी

  • बुधबार, अशोज २६, २०७९
प्रेम आलेले मागे डोटीका पत्रकारहरुसँग माफी

दिपायल – पूर्वमन्त्री एवं नेकपा समाजवादीका तर्फबाट गठबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगरले डोटीका पत्रकारहरुसँग माफी मागेका छन् । बुधबार गठबन्धनले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारहरुले आफ्नो हस्ताक्षरका कारण जागिर गुमाउनु परेकोमा आत्मालोचना गर्दै माफी मागेका हुन् ।

‘विगतमा म सांसद हुँदा कांग्रेस निकट प्रेस युनियनका पत्रकारहरुको रेडियो नेपालमा नियुक्ति भएको थियो,’ उनले भने,’ त्यस समयमा एमाले निकट प्रेस चौतारीका साथीहरुले आफ्नो सरकार भएको बेला आफुहरुले जागिर पाउनु पर्छ भनेर निकै प्रेसर दिए त्यसपछि मैले लेटर प्याडमा हस्ताक्षर गरेर दिए ।

आलेले थपे,”आफ्नै पार्टीका कार्यकर्ता सेभ गर्नु पर्ने कतिपय बाध्यता पनि हुन्छ,’ मैले त्यो गर्न खोजेको पनि थिएन । मेरो गलत मनसाय पनि थिएन । एउटा मेरो हस्ताक्षरले तीन जना पत्रकारले जागीरबाट निलम्बित हुनु पर्यो । मैले आत्मालोचना पनि गरेको छु । मैले त्यो नगर्नु पर्ने थियो । त्यो मा म चुकेको छु त्यसमा मेरो क्षमायाचना छ।”

आलेको सिफारिसमा ८/१० वर्ष देखि करार सेवामा कार्यरत तीन जना पत्रकारहरुले जागिर गुमाउनु परेको थियो । त्यसको विरोधमा प्रेस युनियन, पत्रकार महासंघ लगायतका संघ संगठनले जिल्ला देखि केन्द्रसम्म आन्दोलन गरेका थिए । त्यसको मुद्धा श्रम अदालतमा पनि परेको थियो ।

प्रेस युनियनमा आबद्ध भएकै कारण उनीहरूलाई जागीरबाट निकालेकै दिन प्रेस चौतारीका व्यक्तिहरूलाई भर्ना गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि श्रम अदालतको आदेशमा रेडियो नेपालले निलम्बित पत्रकारहरुलाई तीन वर्ष पछि पुनर्वहाली गरेको थियो ।

तत्कालीन सांसद आलेले संसद्को लेटर प्याड प्रयोग गरेर गलत ढंगबाट जागिर बाट निष्कासन गरेर गलत ढंगबाट अन्य व्यक्तिलाई भर्ना गरेको प्रमाण बाहिर आए पछि आलेको आलोचना हुने गरेको छ ।

पछिल्लो समय कांग्रेस सहितको गठबन्धनमा चुनाव लडिरहेका आलेले चुनावको मुखमा माहोल बनाउन माफी मागेका हुन् । उनी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार