• होमपेज
  • देश
  • पाल्पामा बाढी र पहिरोमा परी तीनजनाको मृत्यु, चार घाइते

पाल्पामा बाढी र पहिरोमा परी तीनजनाको मृत्यु, चार घाइते

  • शनिबार, अशोज २२, २०७९
पाल्पामा बाढी र पहिरोमा परी तीनजनाको मृत्यु, चार घाइते

पाल्पा : पाल्पामा बाढी पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पूर्वी पाल्पाको निस्दी गाउँपालिका १ अर्मलामा बसोबास गर्दै आएका ३५ वर्षी टकबहादुर बराई मगरको निस्दी १ सार्खर्दी खोलाले बगाउँदा मृत्यु भएको हो।

रामपुर नगरपालिका १ बाट निस्दीको अर्मला जाँदै गर्दा खोला तर्ने क्रममा सार्खदी खोलाले बगाउँदा उनी शुक्रबार बेपत्ता भएका थिए । उनको खोजविनको क्रममा शनिबार दिउँसो खोलाको किनारमा शव भेटिएको पाल्पा प्रहरीले जनाएको छ ।

यसैगरी रिव्दीकोट गाउँपालिका- ५ नयाँटोलाबाट ४ रानीठाटी जाने क्रममा बिहीबार ५ वर्षीय बालिका प्रिन्स पचभैयालाई मन्द्रिखोलाले बगाउँदा मृत्यु भएको छ । सँगै रहेका ३४ वर्षीया कविता पचभैया र ३२ वर्षीया मिना रानालाई खोलाले बगाउँदै गर्दा स्थानीयले उद्धार गरेका थिए । मृतक बालिका कविता पचभैयाकी छोरी हुन् । खोलाले बगाउँदा घाइते भएकी रानाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसैगरी निस्दी गाउँपालिका ३ झिरवासका २३ वर्षीय विरेन्द्र सोमै बुधबार दसैंको दिन स्थानीय काफलखोलामा मृत अवस्थामा भेटिएका छन् । सोही गाउँपालिका वडा नं. ५ ढुङ्गानावेशी पाखरी खोलाको किनारामा एक व्यक्ति मृत अवस्थामा भेटिएको उनको शव पहिचान नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भारी वर्षाका कारण तिनाउँ गाउँपालिका ६ मस्याम चिदिसमा निरबहादुर सारुको घर पहिरोले पुरिदा २१ वर्षीया विष्णुमाया सारु र डेढ वर्षीया अरुषी सारु घाइते भएका छन् ।

जिल्ला प्रहरी पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले सबै प्रहरी चौकी र स्थानीयवासीबाट बाढी पहिरोको क्षति संकलनको काम भइरहेको सम्पूर्ण क्षतिको विवरण आउन एक/ दुई लाग्ने बताए ।

बाढी र पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन तम्घास राजमार्गमा खसेको पहिरो हटाई यातायात सञ्‍चालन गरेपनि ग्रामिण क्षेत्रमा खसेको पहिरो स्थानीय पालिकाले नहटाउँदा सवारी साधन चल्न नसकेको यतायात व्यवसायीले बताएका छन् ।

गाउँघरमा दसैं मनाउन पुगेको यात्रुहरु सडक अवरुद्ध हुँदा गाउँमै अलपत्र परेका छन्।

चर्चामा

सम्बन्धित समाचार