काठमाडौं – प्राथमिकताक्रममा नपरेका कारण नागरिकता प्रमाणीकरण सम्बन्धी विवादमा परेका रिट निवेदनमाथि शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।
न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा नागरिकताको प्रमाणीकरणका विवादसम्बन्धी मुद्दा पेशीमा थिए ।
तर यी निवेदनमा शुक्रवार सुनुवाइ हुन सकेन । यी निवेदन सुनुवाइका लागि कहिले पालो आउँछ भनेर सर्वोच्च अदालतले पेशी तोकेको छैन ।
संसदको दुबै सदनबाट पारित गरेर दोस्रो पटक प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले असोज ४ गतेभित्र प्रमाणीकरण गर्नु पर्नेमा गरेकी थिइनन् ।
उनले संवैधानिक दायरा मिचेको भन्दै परमादेशको माग गर्दै उनीविरुद्ध पाँच फरक रिट निवेदनहरु दर्ता भएका थिए ।