शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • धनगढीको सेती अस्पतालमा अब दूरबिनबाट पाठेघरको शल्यक्रिया हुने

धनगढीको सेती अस्पतालमा अब दूरबिनबाट पाठेघरको शल्यक्रिया हुने

  • शुक्रबार, अशोज ७, २०७९
धनगढीको सेती अस्पतालमा अब दूरबिनबाट पाठेघरको शल्यक्रिया हुने

धनगढीः सेती प्रादेशिक अस्पतालमा दूरबिनबाट पाठेघरको शल्यक्रिया सेवा सुरु गरिएको छ। शुक्रबारबाट सेती प्रादेशिक अस्पतालमा दूरबिन विधिबाट चार जना महिलाको दूरबिन बिधीबाट शल्यक्रिया गरिएको हो।

सेती प्रादेशिक अस्पतालमा टिचिङ अस्पताल महाराजगन्जबाट आएका प्राध्यापक डाक्टर पदमराज पन्त र परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका सहप्राध्यापक डाक्टर श्रीप्रसाद अधिकारीद्वारा दूरबिन विधिबाट पाठेघरको शल्यक्रिया गरिएको हो।

शुक्रबार गरिएको शल्यक्रियाबाट गाइनोकोलोजिष्ट र नर्सिङ स्टाफहरूको क्षमता बिकास गर्न सेती प्रादेशिक अस्पतालमा गरिएको शल्यक्रियामा गाइनोकोलोजिष्ट र नर्सिङ स्टाफहरूको संलग्नता रहेको थियो। सेती प्रादेशिक अस्पतालमा यस अघि पनि दूरबिन विधीबाट अन्य अङ्गको शल्यक्रिया हुने भए पनि पाठेघरको शल्यक्रिया भने पहिलोपटक गरिएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले बताए।‘हामीले अरु शल्यक्रिया दूरबिन बिधिबाट पहिलेदेखि गर्न थालेका थियौँ तर पाठेघरको शल्यक्रिया दूरबिनबाट यो पटक सुरू भएको हो,’ उनले भने, ‘आज चार जनाको शल्यक्रिया भएको छ भने अस्पतालमा कार्यरत चिकित्सक र नर्सिङ स्टाफलाई पनि दूरबिनबाट हुने शल्यक्रिया गर्न सक्ने बनाउन साथमै राखिएको छ।’

सेती प्रादेशिक अस्पतालमा दूरबिनबाट पाठेघरको शल्यक्रिया सुरू भएसँगै दूर्गम क्षेत्रमा कार्यरत चिकित्सकको क्षमता बढ्ने र सर्वसाधारण लाभान्वित हुने सेती प्रादेशिक अस्पतालका प्रसुती तथा स्त्रीरोग बिभाग प्रमुख डाक्टर खगेन्द्र भट्टले बताए। ‘हामीले आज पहिलो पटक पाठेघरको दूरबिनबाट लाइभ सर्जिकल वर्कसप पनि सञ्चालन गरेका छौँ,’ उनले भने, ‘यसबाट सेती अस्पतालमा पेट नचिरेरै पाठेघरक शल्यक्रिया गर्न सकिनेछ।’

दूरबिनबाट पाठेघरको शल्यक्रिया गर्दा पेट चिर्न नपर्ने, दुखाइ कम हुने, घाउ निकै सानो हुने र चाडैं निको हुने गर्छ तर उपकरण भने निकै महंगो हुँदा सुरुमा भने बढी लगानी हुने सहप्राध्यापक डाक्टर श्रीप्रसाद अधिकारीले बताए। ‘दूरबिनबाट शल्यक्रिया गर्दा बिरामीलाई निकै फाइदा हुन्छ तर सुरुमा लगानी भने बढी लाग्छ,’ उनले भने, ‘सीपयुक्त जनशक्ति र उपकरण व्यवस्थापन गर्न सके महिलाको पाठेघरको शल्यक्रिया सहजै गर्न सकिन्छ।’

शुक्रबार सेती प्रादेशिक अस्पतालमा ४ जना महिलाको पाठेघर को दूरबिन विधिबाट शल्यक्रिया गरिएको छ। जसमध्ये एक जना ५७ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार