• होमपेज
  • समाचार
  • भजनीका ३ हजार घर डुबानमा, मेयर चौधरीद्वारा सहयोगको अपील

भजनीका ३ हजार घर डुबानमा, मेयर चौधरीद्वारा सहयोगको अपील

  • शनिबार, अशोज १, २०७९
भजनीका ३ हजार घर डुबानमा, मेयर चौधरीद्वारा सहयोगको अपील

कैलालीको अति नै बाढी प्रभावित भजनी नगरपालिका पूर्ण रुपमा डुबानमा परेको छ । अविरल वर्षाका कारण आएको बाढीले नगरपालिकाका १ देखि ९ वटै वडा डुबानमा परेको हो । भजनी नगरपालिकाका मेयर केवल चौधरीले नगरपालिकाको ३ हजार घरधुरी डुबानमा परेको जानकारी दिए । शुक्रबारदेखि सीमित स्रोत साधनका बाबजुद उद्धारमा खटिएको बताउँदै उनले शनिबारसम्म पनि बाढी घट्नुको साटो झन–झन बढ्दै गएपछि नगरबासीलाई सुरक्षित स्थानमा उद्धार गर्न निकै कठिनाइ भएको सुनाए ।

उनले भने, ‘केही नाउ र एकवटा स्टिमरको भरमा उद्धारमा छौ । सबै वडामा उद्धारमा माग भइरहेकोले सबै निकायसँग गुहार गरिरहेका छौ । तर प्रभावकारी रुपमा सहयोगी हात नपुगेको अवस्था छ । उद्धारकै चरणमा रहेकोले गाँस, बासको अवस्थामा अझै पुग्न सकेका छैनौ । तर मैले सबै वडाहरुमा व्यवस्था गर्न निर्देशन दिएको छु ।’

त्यस्तै, भजनी नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले २०४० सालमा आएको महाविनाशकारी बाढी भन्दा भयंकर बाढी आएको बताए । भजनी नगरपालिकालाई नै तहसनहस पारेको बताउँदै उनले सबैसँग सहयोगको अपिल गरे ।

स्थानीय पथरैया, काँढा, कान्द्रा र मोहना नदीमा आएको बाढीले सो क्षेत्र वर्षेनी डुबानमा पर्दै आएको छ । गत वर्ष बाढी आउँदा भजनी नगरपालिकामा ठूलो धनजनको क्षति भएको थियो ।

यसैबीच भजनी नगरपालिका ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीमा बगेर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षाका सबै निकायलाई उच्च सतर्कतामा राखेर उद्धार कार्य भइरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार