• होमपेज
  • समाज
  • अछामका पहिरो पीडितलाई तत्काल राहत वितरण र उद्धार गर्न रावलको माग

अछामका पहिरो पीडितलाई तत्काल राहत वितरण र उद्धार गर्न रावलको माग

  • शनिबार, अशोज १, २०७९
अछामका पहिरो पीडितलाई तत्काल राहत वितरण र उद्धार गर्न रावलको माग

नेकपा (एमाले)का नेता एवम् पूर्व उपप्रधानमन्त्री डा.भीमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढीको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका हुन् । त्यस अवसरमा उनले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराए । नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भिर हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो अविरल वर्षा र त्यसपछि आएको पहिरोको कारणले गर्दा अछाम जिल्लाको कमल बजार नगरपालिका, गाउँपालिका धेरै ठूलो धनजनको क्षति भएको छ । अहिलेसम्म प्राप्त सूचना अनुसार १६ जना भन्दा बढीको हताहत भएको खबर छ, स्थानीय प्रशासनका अनुसार । र, थुप्रै घरहरु पहिरोले पुरिएका छन् । कतिपय व्यक्तिहरु अहिलेसम्म पहिरोमै पुरिएको अवस्था छ । र, त्यहाँ पुग्नका लागि स्थानीय प्रशासन सशस्त्र प्रहरीहरु, नेपाल प्रहरीलाई त्यहाँ पुग्नका लागि पहिरोले बाटो अवरुद्ध । यस सम्बन्धमा मेरो आज बिहान माननीय गृहमन्त्रीजी र सचिवजीसँग कुरा भएको थियो । गृहमन्त्रीजीले त्यहाँ आदेश गइसकेको कुरा गर्नुभएको छ । र, अहिले त्यहाँ लत्ताकपडा, भाडाकुँडा र घाइतेहरुको औषधि उपचारको अत्यन्त ठूलो खाँचो छ । त्यसलाई एकदमै गम्भिर रुपमा लिएर हेलिकप्टरबाट त्यहाँ सामानहरु पुर्याउने, राहत र उद्धारको कामलाई तदारुपताका साथ गर्ने र चिकित्सकहरु पनि मैले थाहा पाएसम्म मंगलसेन अस्पताल र त्यहाँ उपलब्ध जस्तो अवस्था छ ।’

उनले भने, ‘त्यहाँ जान पनि कतिपय ठाउँमा बाटो अवरुद्ध भएको कारणले गर्दा घाइतेहरु भएको ठाउँमा पुग्न धेरै कठिन छ । त्यसकारण सेनाको हेलिकप्टरबाट चिकित्सकहरुको टोली त्यहाँ पठाइयोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु । स्थानीय प्रशासनसँग बुझ्दा राहत र उद्धारका लागि लत्ताकपडा, भाडाकुँडा जति आवश्यक पर्ने हो, त्यहाँ पर्याप्त छैन । त्यसका लागि समेत त्यहाँ तत्काल पठाइएन भने जो व्यक्तिहरु घाइते हुनुभएको छ । उहाँहरुलाई पनि बचाउन त्यसबाट कठिन हुन्छ । किनभने कतिपय ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध भएको हुनाले त्यहाँ सुरक्षाकर्मीहरु पुग्न धेरै कठिन भएको छ । त्यसकारण यस्तो विपदको बेलामा हामी आज अन्तिम अवस्थामा पनि छौं । यसतर्फ म नेपाल सरकार र गृहमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’

नेता रावलले पहिरोको कारण बाटो अवरुद्ध हुँदा उद्धारका लागि गएका सुरक्षाकर्मीहरु समेत घटनास्थल अझै पुग्न नसकेको उल्लेख गर्दै तत्काल सेनाको हेलिकप्टर परिचालन गर्न पनि सरकारसँग अनुरोध गरे ।

चर्चामा

सम्बन्धित समाचार