बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • देश
  • सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

  • बुधबार, भदौ २२, २०७९
सेनाको सुरक्षामा नमूना मतपत्र छाप्न सुरु

काठमाडौं — निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ ।

नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ ।

सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ ।

आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा दैनिक १२ लाखभन्दा बढी थान मतपत्र छाप्न सक्ने क्षमता छ ।

मतपत्र छपाइ हुने जनक शिक्षा सामग्रीको छापाखानामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तैनाथ छन् । मुख्य सुरक्षाको जिम्मा भने नेपाली सेनाको छ । सेनाको अनुमति लिएर मात्र कर्मचारीहरु आउ–जाउ गर्न पाउँछन् ।

चर्चामा

सम्बन्धित समाचार