धनगढी — नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारा लामा तामाङले नेकपा एमालेमै फर्किने घोषणा गरेका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोलेका तामाङले २०७४ सालको चुनावमा जुन पार्टीको चुनाव चिन्ह्र लिएर लडेको, त्यहीअनुसार प्रस्तुत हुने घोषणा गरेका हुन् ।
तामाङ सुर्य चिन्ह्रबाट लडेर चुनाव जितेका थिए । एमाले विभाजनका बेला नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेपछि उनी प्रदेशको आर्थिक मामिला मन्त्री समेत भएका थिए ।
गठबन्धनले जनताको पक्षमा काम गर्न नसकेको आरोप समेत लगाउँदै भने, अहिलेको गठबन्धनले जनताको पक्षमा काम गर्न सकेन । म सुरुमा निर्वाचित पार्टीको चिन्हकै हिसाबले प्रस्तुत हुनेछु ।’
मन्त्री बन्नकै लागि एमाले छोडेर नेकपा एकीकृत समाजवादी नरोजेको दाबी समेत उनको थियो । प्रदेशसभा सदस्य तामाङसहित नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्दैछन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ १५ गते महेन्द्रनगरमा आयोजना हुने कार्यक्रमकाबीच पार्टीमा स्वागत गर्ने कार्यक्रम तय भएको एमाले कञ्चनपुरले जनाएको छ ।