काठमाडौं — लिभरपुलले प्रिमियर लिग फुटबल इतिहासकै सबैभन्दा ठूलो जितको कीर्तिमान बराबरी गर्दा शनिबार बर्नमाउथलाई ९-० ले पराजित गरेको छ ।
यस सिजन राम्रो सुरुवात गर्न नसकेको लिभरपुलले शनिबार घरेलु मैदान एनफिल्डमा गोलको वर्षा गर्दै सिजनको पहिलो जित समेत हात पारेको छ । सुरुवाती दुई खेलमा बराबरी खेलेको लिभरपुल अघिल्लो खेलमा म्यानचेष्टर युनाइटेडसँग पराजित भएको थियो ।
लिभरपुललाई फराकिलो जित दिलाउन रोबर्टो फिर्मिन्हो र लुइस डियाजले दुई-दुई गोल गरे । यस्तै हार्भे इलियट, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड, भर्जिल भान डाइक र फाबियो कार्भाल्होले एक-एक गोल गरे ।
बर्नेमाउथका क्रिस मेपहमले एक आत्मघाती गोल गरे ।
लिभरपुलले पहिलो हाफमै पाँच गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल थपेको थियो ।
पहिलो जितपछि लिभरपुलले चार खेलबाट ५ अंक जोडेको छ ।
यसअघि म्यानचेष्टर युनाइटेडले इस्बिच टाउन र साउथह्याम्पटनलाई तथा लेस्टर सिटीले साउथह्याम्पटनलाई नै समान ९-० ले हराएको थियो ।