• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा कस्तो छ बन्दको प्रभाव ?

सुदूरपश्चिममा कस्तो छ बन्दको प्रभाव ?

  • मङ्लबार, भदौ ७, २०७९
सुदूरपश्चिममा कस्तो छ बन्दको प्रभाव ?

धनगढी — नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ। मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार प्रदेशभरीका बस टिकट काउन्टर बन्द अवस्थामा छन्। यस्तै लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रहरीले बताएको छ। कैलाली र कञ्चनपुरमा अटोरिक्सा तथा मोटरसाइकल भने फ्याट्टफुट्ट चलिरहेका छन्।

यसैबीच, कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन्। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए।
उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो। यस्तै अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका छन्।

विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका हुन्।दिनेशखबरबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार