यदि तपाईं पनि मदिराप्रेमी हुनुहुन्छ भने चर्चित बियर कम्पनी हेनिकेनको नाम त अवश्य सुन्नुभएको होला । हेनिकेनले विभिन्न प्रकारका बियर बजारमा ल्याउने गर्दछ । पछिल्लो समयमा यो कम्पनीले जुत्तामा हालेर बियर बेचिरहेको छ ।
हुनत फेसनको दुनियामा नयाँ कुरा पत्ता लगाउनु अर्थात् इनोभेसन कुनै अनौठो होइन । तर कुनै कम्पनीले जुत्तामा मदिरा राखेर बेचिरहेको फेसन चाहीँ सायद दुनियाँमै पहिलोपटक हो ।
हेनिकेन कम्पनीमा कार्यरत चर्चित डिजाइनर डोमिनिक सियाम्ब्रोन उर्फ शू सर्जनको सहयोगमा उक्त मदिरा भरिएको जुत्ता लञ्च गरिएको हो ।
कम्पनीले एक ट्वीट मार्फत जुत्ताको एक स्मार्ट जोडीको पहिलो लुक्स शेयर गरेको छ ।
कम्पनीले भनेको छ- तपाईंका लागि सोलमा डिजाइन गरिएको हेनिकेन सिल्भर, जसको नरमपनालाई अब नजिकबाट देख्न सकिनेछ । कम्पनीका अनुसार चर्चित डिजाइनर डोमिनिक सिआम्ब्रोनको सहयोगमा उक्त जुत्ताको डिजाइन गरिएको हो ।
यो जुत्ता हरियो र रातो रङमा उपलब्ध छ र त्यसमा सेतो रङ समायोजन गरिएको छ । यो जत्ता सीमिति संख्यामा मात्रै बजारमा पठाइने कम्पनीले जनाएको छ ।
यो जुत्ताको तलुवा अर्थात् सोलमा बियर भरिएको हुन्छ । एक विशेष सर्जिकल इन्जेक्सनको प्रयोग गरी तलुवामा बियर भरिन्छ । एजेन्सी