शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • चार बर्षपछि साँफे मार्तडी सडकको अम्काेटमा वैकल्पिक मार्ग निर्माण सुरु

चार बर्षपछि साँफे मार्तडी सडकको अम्काेटमा वैकल्पिक मार्ग निर्माण सुरु

  • शुक्रबार, साउन २०, २०७९
चार बर्षपछि साँफे मार्तडी सडकको अम्काेटमा वैकल्पिक मार्ग निर्माण सुरु

बाजुरा — साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त अम्काेट क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ ।  वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरि बिहिबारदेखि काम सुरु भएको हो । साउन १७ गते बुढीगंगा नगरपालिका, स्थानीय जग्गा धनी र सडक डिभिजन कार्यालय साँफे बीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्ष पछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेको हो ।

पालिकाका तर्फबाट बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बाँनीयाको टोलीले अम्कोट बासीसँग गरेको लगातारको छलफल र संवाद पछि नयाँ बाटो निर्माणका लागि जमिन दिन स्थानीय तयार भएका हुन् । उनीहरुले मुआब्जा नलिएर नै सडक निर्माण गर्न दिने साउन १५ गते मात्र लिखित सहमति दिएका थिए । कामको रिवन काटेर जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गरेका छन् ।

नयाँ वैकल्पिक मार्गको नगर प्रमुख राबहादुर बाँनीया, उपप्रमुख माया कुँवर, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सडक डिभिजन कार्यालयका प्रतिनिधी सहीत स्थानीयको उपस्थितिमा कामको औपचारिक सुरुवाद गरिएको हो । निर्माणको काम सडक डिभिजन कार्यालयकै मेसिन मार्फत गरिने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताएका छन् । चार वर्षदेखिको प्रहरी प्रशासन, राजनीतिक दल र नगरपालिकाले स्थानीयलाई नै मनाउन सकेका थिएनन् ।

स्थानीयले जमिन निशुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले बेहोर्ने र सहजिकरण नगरपालिकाले गर्ने सहमतिमा निर्माणको काम अघि बढेको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । बल्देकै अवरोधका कारण साँफे मार्तडी सडक वर्षेनी बर्षादका चार महिना अवरुद्ध हुने गरेको छ ।

बल्देको घम्तीबाट बल्दे आटीचौर सडक भएर कन्सन बाजुराको कार्यालय अगाडिलाई नै जिरो प्वाइन्ट बनाएर सडक निर्माण सुरु गरिएको छ । पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकोले गाउँ माथिबाट सडक लिन दिने सहमति गरिएका स्थानीयको भनाई छ ।

वैकल्पिक मार्ग निर्माणको जिरो प्वाइन्टबाट काम सुरु भएपछि जिल्ला बासीमा केही आशाको तरंग फैलिएको छ । ‘स्थानीयको सहमतिपछि काम सुचारु गरिएको डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताएका छन् । बर्षादको समयमा सडक निर्माणको काम प्राविधिक दृष्टीकोणबाट राम्रो मानिदैन्, तर बिशेष परिस्थितिलाई मध्येनजर राखेर काम अघि बढाइएको हो ।

वैकल्पिक मार्ग निर्माण हुन सके तत्कालको पहिरोले अवरुद्ध सडक सुचारु हुने छ । सदरमुकाम नै सडक सम्पर्कबाट विच्छेद हुने अवस्थाको अन्त्य र अल्पकालिन समाधानका लागि वैकल्पिक बाटो नै उपयुक्त निकास हुने नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् ।

१२ करोड लागत स्टमेट सहीतको थप चार किलोमिटर मार्ग निर्माणको फाइल गएको वर्षको पौच देखि मन्त्रालयमा थन्कीएको डिभिजन कार्यालय अछामका प्रमुख राजेश यादवले बताएका छन् । वैकल्पिक मार्गको कच्ची बाटो निर्माण गर्न सके कालोपत्रेका लागि हिउँदमा प्रक्रिया अघि बढाएपनि हुने देखिन्छ । बाटो अवरुद्ध हुँदा सदरमुकामसँगको सम्पर्क नै विच्छेद छ । यात्रुहरु पैदल हिँड्न बाध्य छन् ।

चर्चामा

सम्बन्धित समाचार