सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम लोकसेवा आयोगले फेल भएकालाई पास गराएको आरोप, प्रवक्ता भन्छन्ः फाइल हेर्न मिल्दैन

सुदूरपश्चिम लोकसेवा आयोगले फेल भएकालाई पास गराएको आरोप, प्रवक्ता भन्छन्ः फाइल हेर्न मिल्दैन

  • शनिबार, साउन १४, २०७९
सुदूरपश्चिम लोकसेवा आयोगले फेल भएकालाई पास गराएको आरोप, प्रवक्ता भन्छन्ः फाइल हेर्न मिल्दैन

धनगढी– प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले वन रक्षकको शारीरिक परीक्षामा बदमासी गरेको आरोप लागेको छ। वन रक्षकको शारीरिक परीक्षा अन्तरगत आवश्यक तौल नै नपुगेका परीक्षार्थीलाई आयोगले उत्तीर्ण गराएको आरोप लागेको हो।असार १९ गते गौरीगंगा नगरपालिकास्थित वनबेहडामा लिइएको प्रयोगात्मक परीक्षा (शारीरिक परीक्षा) मा वजन नपुगेका परीक्षार्थीलाई उत्तीर्ण गराइएको स्रोतले जानकारी दियो। लोकसेवाले वन रक्षकको तन्दुरुस्ती परीक्षाको नतिजामा क्रमसंख्या ५११९, २६०९३ रोल नम्बर उल्लेख गरिएका पृथ्वीराज बडुवालको तौल (वजन) नपुगेकोमा उनलाई पास गराइएको हो। बडुवालले पिछडिएको क्षेत्रबाट आवेदन दिएका थिए।

उनीसँगै तौल जचाएका एक परीक्षार्थीले भने, ‘तौल जाँचबुझका दिन बडुवाल र म सँगै अगाडि–पछाडि लाइनमा थियौं। बडुवाल म भन्दा पछाडि थिए। मैले तौल जँचाएर पास भए। त्यसपछि बडुवालको पालो आयो। उनको तौल जँचाउने क्रममा ४२ किलोग्राम मात्रै देखियो।’ उनले थपे, ‘त्यहाँ तौल जाँचबुझ गर्ने अधिकारीहरुले उनको छाती र हातमा ४२ किलो तौलसमेत साइनपेनले लेखेका थिए। उनी त्यहीँ बेला फेल भएका थिए। तर, उनलाई फेल गराइएको छैन।’

वन रक्षक हुन पुरुष उम्मेदवारको न्यूनतम उचाई ५ फिट २ इन्च हुनुपर्छ। पुरुष उम्मेदवारको छातीको चौडाई नफुलाउँदा ३१ इन्च र फुलाउँदा ३३ इन्च हुनुपर्छ। यस्तै वजन (तौल) ५० किलो तोकिएको छ। तर, ४२ किलो तौल भएका बडुवाललाई त्यहाँका अधिकारीहरुले बदमासी गरेर त्यपछिका परीक्षाहरुमा समेत सहभागी गराइएको स्रोतको दाबी छ।

स्रोत भन्छ, ‘फेल भएको भोलिपल्ट ती बडुवाललाई रुख चढेको देखे। म अचम्ममा परे। त्योबेला मलाई हप्काउँछन् भनेर म केहीँ नबोलेर चुप बसे।’

कर्मचारीहरुको सेटिङमा उनको तौलमा गडबड गरेर पास गराइएको उनीसँगै तौल जँचाएका परीक्षार्थीको आरोप छ। शारीरिक तन्दुरुती चेक जाँचपछि दौड, पौडी तथा रुख चढेका परीक्षार्थीहरुले मात्रै लिखित परीक्षामा सहभागी हुन पाइन्छ। तर, बडुवालको नाम लिखित परीक्षा दिन पाउनेको सूचीमा रहेको लोक सेवा आयोग सुदूरपश्चिमले जनाएको छ।

लोक सेवाका प्रवक्ता भन्छन्ः फाइल हेर्न मिल्दैन
लोक सेवा आयोगले भने उक्त आरोप अस्विकार गरेको छ। लोक सेवा आयोग सुदूरपश्चिमका सूचना अधिकारी हिरालाल चौधरीले उक्त आरोप निराधार भएको दाबी गरेका छन्। उनले भने,‘यस्तो नभएको होला। हाम्रा विज्ञ अधिकारीहरुको निगरानीमा सबै परीक्षाहरु हुन्छन्। चलखेलको सम्भावना छैन।’

यस्तै उनले अहिले परीक्षार्थी पृथ्वीराज बडुवालको तौल मापनको नतिजा हेर्न नसकिने बताएका छना्। फाइल सिलबन्दी भएकाले नतिजा हेर्न नसकिने बताउँदै लिखित परीक्षापछि मुचुल्का उठाएर मात्रै उनको तौल मापनको नतिजा हेर्न सकिने उनले बताए।

लोक सेवा आयोग सुदूरपश्चिमका अध्यक्ष यज्ञराज बोहराले पनि यस्तो प्रकारको त्रुटि नभएको हुनसक्ने दाबी गरेका छन्। त्यस्तो भएको भए आफूले नोटिसमा राख्ने उनले बताए।

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा चैत १२ गते आवेदन खोलेको थियो। आयोगले तहविहीन वन रक्षक पदका लागि एक सय ६७ जना माग गरेको थियो। लोक सेवा आयोगले वन रक्षक, नेपाल वन, जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी, जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग गरेको थियो।

सबैभन्दा धेरै खुलातर्फ ९२ जना वन रक्षक माग भएको थियो भने सबैभन्दा कम पिछडिएको क्षेत्रतर्फ ३ जना वन रक्षक माग गरिएको थियो। एक सय ६७ पदका लागि ३५ हजार १८ जनाको आवेदन परेको थियो। यसअघि पनि लोक सेवाले वन रक्षकका लागि आवेदन दिएकाहरुले प्रयोगात्मक परीक्षा निष्पक्ष र स्वच्छ रुपमा नगरेको गुनासो आएको थियो। परीक्षार्थीहरुले आर्थिक लाभमा कर्मचारी र सुरक्षा निकायका अधिकारीले बदमासी गरेको आरोप लगाएका थिए।

लिखित परीक्षा भदौमा
वन रक्षक पदको लिखित परीक्षा आगामी भदौ ११ गते बिहान ११ बजेबाट हुने भनिएको छ। वन रक्षक पदको विज्ञापन नम्बर ५०१–५०७-०७८–७९ (खुला/समावेशी) पदमा दरखास्त दिएर प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षामा सहभागी भई सफल भएका उम्मेदवारले मात्रै दोस्रो चरणको लिखित परीक्षा दिन पाउने प्रदेश लोक सेवा आयोगले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार