• होमपेज
  • देश
  • नेपाली समेत रहेको कंगोमा शान्ति सेनाविरुद्ध ठूलो प्रदर्शन, ३ शान्ति सेना र १२ स्थानीयको मृत्यु

नेपाली समेत रहेको कंगोमा शान्ति सेनाविरुद्ध ठूलो प्रदर्शन, ३ शान्ति सेना र १२ स्थानीयको मृत्यु

  • बिहिबार, साउन १२, २०७९
नेपाली समेत रहेको कंगोमा शान्ति सेनाविरुद्ध ठूलो प्रदर्शन, ३ शान्ति सेना र १२ स्थानीयको मृत्यु

प्रजातान्त्रिक गणतन्त्र कंगोको अशान्त उत्तरपूर्वी क्षेत्रमा संयुक्त राष्ट्र संघले तैनाथ गरेको शान्ति सेनाविरुद्ध बढ्दै गएको आम असन्तुष्टिले सोमबार हिंसात्मक रुप लियो । उत्तरी किभु प्रान्तको मुख्य सहर गोमामा स्थानीय देशमा तैनाथ संयुक्त राष्ट्रसंघीय मिशन विरुद्ध उत्रिँदा दुवैतर्फ १५ जनाको मृत्यु भएको छ ।

कंगोमा तैनाथ प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा ‘युनाइटेड नेसन अर्गनाइजेसन स्टाबलाइजेसन मिसन इन डीआर कंगो (मोनुस्को)’ ले सशस्त्र समूहहरूको दशकौं पुरानो लडाइँ रोक्न असफल भएको आरोप लाग्ने गर्छ ।
संयुक्त राष्ट्रसंघले बताएअनुसार प्रदर्शनकारीहरूले कङ्गोली पुलिसबाट ‘हतियार खोसेर’ शान्ति सेनामाथि गोली चलाएका थिए । तिनले मुख्यालयमा ढुङ्गा र पेट्रोल बम प्रहार हानेको र मुख्यालयमा लुटपाटसमेत गरेको संगठनले बताएको छ ।

संयुक्त राष्ट्र संघका महासचिवले हिंसाको कडा शब्दमा निन्दा गरेको संगठनका एक प्रवक्ताले विज्ञप्तिमा भनेका छन् । ‘उनले संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध निर्देशित कुनै पनि आक्रमण युद्ध अपराध हुनसक्ने कुरामा जोड दिएका छन् र कङ्गोली अधिकारीलाई घटनाको छानबिन गर्न र दोषीहरूलाई तुरुन्त न्यायको दायरामा ल्याउन आह्वान गरेका छन्,’ संयुक्त राष्ट्र संघका सह–प्रवक्ता फरहान हकले भने ।

संयुक्त राष्ट्रसंघका सेनाले अधिकतम संयमता अपनाउँदै राष्ट्र संघका कर्मचारीहरूमाथि आक्रमण रोक्न प्रदर्शनकारीहरूमाथि ‘वार्निङ गोली’ चलाएको पनि हकले बताए । प्रदर्शनहरू मङ्गलबार बेनी र बुटेम्बो सहरहरूमा अझ उत्तरी क्षेत्रमा फैलिएको थियो ।

बुटेम्बोमा शान्ति सेना र दुई संयुक्त राष्ट्रका प्रहरी अधिकारीहरू पनि मारिएको संयुक्त राष्ट्र मिसनले एक विज्ञप्तिमा भनेको छ । भारतका विदेश मन्त्री एस. जयशंकरले मारिएका मध्ये दुई जना भारतीय सैनिक भएको बताएका छन् ।

विश्वको सबैभन्दा ठूलो मिसन : मोनुस्को
मोनुस्को शान्ति स्थापनामा तैनाथ विश्वको सबैभन्दा ठूलो संयुक्त राष्ट्रसंघीय मिसन हो । तर मिसनले दशकौंसम्म कंगोमा रहँदा पनि त्यहाँको रक्तपात गृहयुद्ध अन्त्य गर्न असफल भएको आरोप लाग्ने गर्छ । कंगोको उत्तरी भेगमा १२० भन्दा बढी सशस्त्र समूहहरू सक्रिय छन्, जहाँ नागरिक नरसंहार सामान्य छ । द्वन्द्वले लाखौं मानिसहरूलाई विस्थापित भइसकेका छन् ।

सोमबार मोनुस्कोको मुख्यालय र त्यहाँको आपूर्ति केन्द्रमा आक्रमण गर्नुअघि सयौं मानिसले सडक अवरुद्ध गरेर मोनुस्को विरोधी नारा लगाएका थिए । प्रदर्शनकारीहरूले त्यसपछि मुख्यालयको झ्यालहरू तोडफोड गरे र बहुमूल्य सामानहरू लुटे ।

यस अवधिमा हेलिकप्टरहरूले मुख्यालयबाट संयुक्त राष्ट्र संघका प्रशासनीक फाँटमा कार्यरत कर्मचारीहरूलाई एयरलिफ्ट गरेका थिए भने सुरक्षा बलहरूलाई सक्रिय बनाएको थियो । शान्ति सेनाले भिडलाई तितरवितर बनाउन अश्रुग्यास प्रहार गरेका थिए ।

सिनेट अध्यक्षको भड्काउ भाषणको प्रभाव
अन्तराष्ट्रिय मिडियाका अनुसार पछिल्लो प्रदर्शन सिनेटका अध्यक्ष मोडेस्ट बहाटी लुक्वेबोले जुलाई १५ मा गोमामा उपस्थिति समर्थकहरूलाई मोनुस्कोले ‘आफ्नो झोलीतुम्ला कस्नुपर्ने’ भनेपछि सुरु भएको हो । त्यस्तै अहिलेको प्रदर्शन र वर्षौंदेखि निस्क्रिय रहेको एक सशस्त्र समूह एम२३ नोभेम्बरबाट सक्रिय हुन लागेकै समयमा भएको छ ।

सो विद्रोही समूहले युगान्डाको सीमा नजिकको बुनागानाको उत्तरी किभु सहर कब्जा सहित पूर्वी कंगोमा महत्वपूर्ण प्रगति गरेका छन् ।

‘नेपालीहरु तैनाथ रहे पनि सुरक्षित’
मोनुस्को मिसन अन्तरगत कंगोमा ठूलो संख्यामा नेपाली सैनिकहरु तैनाथ रहेको तर सबै सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले रातोपाटीसँग बताए । उनका अनुसार जंगी अड्डाले कंगोमा रहेका नेपाली सैनिकहरूसँग नियमित सम्पर्कमा रहेको र आवश्यक निर्देशन दिइएको बताए ।

‘हामीले कंगो मिसनमा तैनाथ नेपाली सैनिकहरुलाई चौबीसै घण्टा सचेत भएर रहन निर्देशन दिएका छौं,’ सिलवालले भने । –अल–जजिराको सहयोगमा एजेन्सी

चर्चामा

सम्बन्धित समाचार