बाजुरा — बाजुराको बुढीगंगा नगरपलिकामा असार २३ गते हुने निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि बढाएकाे अधिकारीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरेकाे उनले बताएका छन ।
पालिकाका १० ओटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको बताए । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेको पनि प्रजिअ अधिकारीले बताए ।
उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले असार २३ गते बिहीबार बिहान ७ बजेदेखि मतदान हुने छ ।बुढिगंगा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो ।