• होमपेज
  • देश
  • नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

  • आइतवार, असार १९, २०७९
नेपालमा पहिलो पटक देखियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’

काठमाडौं —  नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा ओमिक्रानको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि गरे ।

‘अन्य प्रयोगशालाबाट आएको नुमनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ओमिक्रोनको उपप्रजाति देखिएको छ,’ डा. श्रेष्ठले अनलाइखबरसँग भने,’ यसले ओमिक्रानको उपप्रजाति ‘बीए फाइभ’ फैलिएको छ भन्ने देखाउँछ ।’

उनका अनुसार संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन संक्रमणदर बढिरहेको छ ।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप र अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुईसातायता झण्डै संक्रमणदर चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत पुर्‍याएको बताउँछन् ।

अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ धेरै छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘केही महिना अगाडी युरोपेली देशमा संक्रमित बढ्नुमा बीए फोर र बीए फाइभ रहेको पाइएको छ,’ डा. पुनले भने,’ नेपालमा पनि पुष्टि भएसँगै संक्रमण फैलाउनुमा ओमिक्रोनको उपप्रजातिको मद्धत पुर्‍याएको रहेको थप पुष्टि हुन्छ ।’

तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे विज्ञहरूसँग जबाफ छैन । बीए फाइभ’ उपप्रजातिले कस्तो अवस्था ल्याउने अहिले एकिन गर्न नसकिने डा. पुन बताउँछन् ।

‘संक्रमण भएर मात्रै सामान्य लक्षणमा मात्रै हुनु हो कि ! थप समस्या ल्याउँछ भन्ने कुरा एकिन गर्न सकिदैन,’ डा. पुनले थपे,’ तर, नयाँ उपप्रजातिले पुनः संक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउँछ ।’

त्यसैगरी, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि नयाँ उपप्रजाति पुन संक्रमण गराउन सक्ने ठूलो सम्भावना रहेको बताउँछन् । तर, ओमिक्रोनको बीए फाइभ अन्य प्रजातिभन्दा बढी घातक नहुने विज्ञहरुको आंकलन छ ।

‘हरेक हप्ता गरी संक्रमितको संख्या बढिरहेको छ । खोपको रोगप्रतिरोधात्मक क्षमता कम हुँदै जानुले केही समय संक्रमित संख्या बढ्नसक्छ,’ डा. सुवेदी भन्छन्,’ तर, ओमिक्रोनको बीए फाइभले कतिको जोखिम ल्याउँछ भन्न गाह्रो छ ।’

यसअघि कोरोनाभाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टले संक्रमणको ठूलो लहर निम्त्याएका थिए । तर, ओमिक्रोनको ‘बीए फाइभ’ उपप्रजातिले मानिसहरु पटक–पटक संक्रमित भइसकेकाले थप गम्भीर नहुने आश लिने सकिए पनि ढुक्क हुने अवस्था नरहेको डा. सुवेदीको आंकलन छ ।

नयाँ लहर आउँदा कतिको कडा हुन्छ भन्ने कुरा विभिन्न तत्वले प्रभाव पार्ने डा. सुवेदी बताउँछन् ।

विज्ञका अनुसार ओमिक्रोनको अन्य भेरियन्टको संक्रमण भएका मानिसहरूमा पनि पुनः बीए फोर र बीए फाइभ उपप्रजातिको ओमिक्रोन देखिएको छ ।

नयाँ उपप्रजातिले पनि वृद्धवृद्धालाई वा अन्य स्वास्थ्य अवस्था रहेका मानिसलाई गम्भीर बिरामी बनाउन सक्ने जोखिम यथावत रहेको डा. पुन बताउँछन् ।

ओमिक्रोनले स्वरुपमा निरन्तर परिवर्तन गइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले थप कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा. पुनको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ( टेकु) ले अहिले देखिएको संक्रमण ओमिक्रोन भेरियन्टको पुरानै प्रजाति हो वा होइन भन्नेबारे अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको जनाएको छ । प्रयोगशलाकी निर्देशक डा. रुना झाका अनुसार जीन सिक्वेन्सिङको रिर्पोट सोमबार ( भोलि ) आउनेछ ।

‘हामीले दुई हप्तामा अगाडि गरेको जिन सिक्वेन्सिङ गरेकोमा ओमिक्रोन देखिएको छ,’ डा. झाले भनिन्, ‘पछिल्लो चरणको केसको जिन सिक्वेन्सिङ भइरहेको छ । संक्रमण बढ्नुमा कुन भेरियन्टले हो भन्ने थप पुष्टि होला ।’

नेपालमा कोरोनाको संक्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । त्यो सख्या बढेर १५ असारमा ६२ जनामा पुष्टि भएको छ ।

असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण देखिएको थियो भने असार १८ गते दुई हजार ४६७ जनामा परीक्षण गर्दा ४४ जनामा सक्रमण देखिएको थियो ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल अहिले ३१४ सक्रिय संक्रमित छन् । जसमध्ये ७ जना संस्थागत आइसोलेशन र चार जना सघन उपचार कक्ष (आईसीयू) मा छन् ।

चर्चामा

सम्बन्धित समाचार